आज पनि देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ ०८:१६

काठमाडौं – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव कायम छ।

हाल कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि अन्य अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी–नाला आसपास र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।