Breaking Nepal

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेसँगै त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढी हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चाँदी चार हजार ४१० रुपैयाँ कायम गरिएको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले उच्च हो।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य मजबुत देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल एक औँस सुन चार हजार ५२ अमेरिकी डलर तथा चाँदी ५८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति, अमेरिकी डलरको उतारचढाव तथा विश्व आर्थिक गतिविधिको प्रभावले आगामी दिनमा पनि स्वदेशी बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहने व्यवसायीहरूको आकलन छ।