Breaking Nepal

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन निर्माण प्रक्रिया सुरु भएको छ।
विद्यालय भवन निर्माणको शनिबार आयोजित शिलान्यास कार्यक्रममा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशी सहभागी भए।
भारतीय राजदूतावासका अनुसार भवन निर्माणका लागि करिब १ करोड ९० लाख रुपैयाँ बराबरको अनुदान उपलब्ध गराइएको छ। निर्माण कार्य भीमदत्त नगरपालिकामार्फत सञ्चालन हुनेछ।
यो परियोजना कञ्चनपुर जिल्लामा कार्यान्वयन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) हो। विद्यालयको भौतिक पूर्वाधार विस्तारसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित अध्ययन वातावरण तथा शिक्षकका लागि प्रभावकारी शिक्षण वातावरण तयार हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ भवनले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधारलगायत प्राथमिकताका क्षेत्रमा नेपालसँगको विकास सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ। यस्ता परियोजनाले स्थानीय तहको पूर्वाधार विकाससँगै नेपाल सरकारको विकास लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने राजदूतावासको भनाइ छ।