Breaking Nepal

जनकपुरधाम। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दिगो आर्थिक तथा सामाजिक विकासका लागि प्राकृतिक स्रोतको संरक्षणलाई विकास नीतिको केन्द्रमा राख्नुपर्ने बताएकी छन्। वन, कृषि, जलस्रोत र जमिनको सन्तुलित उपयोगबिना दीर्घकालीन समृद्धि सम्भव नहुने उनको भनाइ छ।
धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन विनाश र वातावरणीय असन्तुलनले मानव जीवनमै चुनौती सिर्जना गरिरहेको उल्लेख गरिन्। प्राकृतिक सम्पदाको संरक्षण राज्य, स्थानीय तह र समुदाय सबैको साझा दायित्व भएको उनले बताइन्।
उनले सडक तथा भौतिक पूर्वाधार विस्तार मात्र विकासको मापदण्ड हुन नसक्ने उल्लेख गर्दै कृषि उत्पादन, वन व्यवस्थापन, जलस्रोत संरक्षण र वातावरणीय सन्तुलनलाई समान प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिन्।
नेपाललाई कृषि प्रधान मुलुक र वनसम्पदामा धनी देशका रूपमा चिनिए पनि यी क्षेत्रले अपेक्षित नीति तथा लगानी प्राप्त गर्न नसकेको उनले उल्लेख गरिन्। माटोको गुणस्तर सुधार, वन संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्राणी उद्यान स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिँदै त्यसअन्तर्गत मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने बताइन्। उनका अनुसार जैविक विविधताको संरक्षण, पर्यावरणीय सन्तुलन र पर्यापर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै उक्त योजना कार्यान्वयन गरिनेछ।