बासी खाना खुवाएको आरोपमा देउखुरीको होटललाई २५ हजार रुपैयाँ जरिवाना

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ ०८:२४

दाङ – यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाएको पाइएपछि दाङको देउखुरीस्थित एक होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयामा सञ्चालित पूर्व–पश्चिम हाइवे होटललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले कारबाही गरेको हो।

कार्यालय प्रमुख पदम बरालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको टोलीले अनुगमनका क्रममा होटलको फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको सरसफाइ कमजोर रहेको, मूल्यसूची नराखिएको तथा नालीमा फोहोर पानी जमेर दुर्गन्ध फैलिएको अवस्था फेला पारेको थियो।

उक्त होटललाई यसअघि पनि पटक–पटक सुधारका लागि निर्देशन दिइएको भए पनि बेवास्ता गरेपछि पुनः गरिएको अनुगमनमा कुनै सुधार नदेखिएकाले जरिवाना गरिएको प्रमुख बरालले बताए।

होटल सञ्चालकलाई तोकिएको जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

यसैबीच, अनुगमन टोलीले शुक्रबार देउखुरी क्षेत्रका थप सात वटा होटलमा पनि खाद्य गुणस्तर र सरसफाइको अवस्था निरीक्षण गरेको जनाएको छ।