Breaking Nepal

सिरहा – सिरहाको लहानस्थित हस्पिटल चोकमा प्रहरीको गोली प्रहारपछि पक्राउ परेका ६ जनामध्ये दुई जना गम्भीर आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। पक्राउ परेकामध्ये एक जना झुम्का कारागारबाट फरार भएका कैदी हुन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुईवटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले बिहीबार पक्राउ गरेका सप्तरीको रुपनी गाउँपालिका–१ का ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २५ वर्ष कैद सजाय पाएका व्यक्ति रहेको खुलेको छ। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।
यस्तै, सप्तरीको बोदेबर्साइन नगरपालिका–२ का शम्भुप्रसाद यादवविरुद्ध ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दा दर्ता रहेको सिरहा प्रहरीले जनाएको छ। ती घटनापछि उनी फरार रहँदै आएका थिए।
यसै घटनामा प्रहरीले बैजनाथप्रसाद यादव, जमाहिर आलम, मो. इमामुद्दिन तथा भारतको बिहारका विद्यानन्द यादवलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सबैलाई नियन्त्रणमा लिएर लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।