एमालेको १० बुँदे संगठनात्मक ‘रोडम्याप’ सार्वजनिक, पार्टी विस्तारदेखि डिजिटल रूपान्तरणसम्म

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ १९:२२

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संगठन सुदृढीकरण, सदस्यता विस्तार र प्रविधिमैत्री पार्टी निर्माणलाई केन्द्रमा राख्दै १० बुँदे संगठनात्मक संकल्प सार्वजनिक गरेको छ ।

केन्द्रीय संगठन विभागको आयोजनामा काठमाडौंमा सम्पन्न दुईदिने राष्ट्रिय कार्यशालाले पार्टीलाई जनआधारित, प्रविधिमैत्री र युवा आकर्षित संगठनका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित १० बुँदे संकल्प पारित गरेको हो ।

संकल्पपत्रअनुसार प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने अभियान सञ्चालन गरिनेछ । सदस्यता विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन सदस्यता नवीकरण अभियानलाई वडा तथा टोल तहसम्म लैजाने निर्णय पनि गरिएको छ।

कार्यशालाले विज्ञान, प्रविधि तथा डिजिटल माध्यमको अधिकतम उपयोगमार्फत संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । साथै युवापुस्ताको आकर्षण र सहभागिता बढाउन विशेष कार्यक्रम सञ्चालन गर्ने एजेण्डालाई समेत प्राथमिकतामा राखिएको छ ।

एमालेले गत निर्वाचनमा पार्टीलाई मत दिएका नागरिकलाई संगठनात्मक गतिविधिमा प्रत्यक्ष सहभागी हुन आह्वान गर्ने रणनीति पनि अघि सारेको छ। नेतृत्व तहका अनुसार मतदातालाई समर्थकबाट सक्रिय सदस्यतर्फ रूपान्तरण गर्ने अभियानलाई आगामी दिनमा तीव्रता दिइनेछ।

कार्यशालामा जिल्ला इन्चार्ज, प्रदेश तथा जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख, जनसंगठनका प्रतिनिधि तथा विभिन्न तहका जिम्मेवार नेताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले प्रदेशगत तथा विषयगत समूहमा विभाजन भएर संगठन निर्माण, सदस्यता व्यवस्थापन, जनसम्पर्क विस्तार र आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत समीक्षा तथा छलफल गरेका थिए ।

समूहगत छलफलको निष्कर्ष विभिन्न प्रदेश तथा विषयगत समूहका प्रतिनिधिहरूले प्रस्तुत गरेका थिए। प्रस्तुत सुझाव तथा निष्कर्षलाई समेट्दै एमालेले आगामी संगठन विस्तार अभियानलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ ।

पार्टी नेतृत्वले कार्यशालाबाट प्राप्त निष्कर्षलाई आगामी कार्ययोजना निर्माणको आधार बनाइने जनाएको छ । एमालेका अनुसार संगठनलाई तल्लो तहसम्म थप सक्रिय, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यसहित कार्यशालाबाट पारित संकल्प कार्यान्वयनमा केन्द्रित हुने तयारी गरिएको छ ।