मोरङको उर्लाबारीको नयाँ शैक्षिक मोडल लागू, आइतबार विद्यालय खुल्ने तर कक्षा नचल्ने 

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ १९:३३

विराटनगर / मोरङको उर्लाबारी नगरपालिकाले दुई दिने साप्ताहिक बिदापछि विद्यालय शिक्षामा देखिएको प्रभाव न्यूनीकरण गर्न आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। यद्यपि, उक्त दिन नियमित पठनपाठन भने नहुने नगरपालिकाले स्पष्ट पारेको छ।

नगर कार्यपालिकाको जेठ १९ गते बसेको बैठकले असार १ गतेदेखि लागू हुने गरी नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबार खोल्ने निर्णय गरेको हो। आइतबार विद्यार्थीलाई विद्यालयमा उपस्थित गराइए पनि शैक्षिक पाठ्यक्रमअनुसारको नियमित कक्षा सञ्चालन गरिने छैन।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेका अनुसार शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा लागू भएपछि विद्यार्थीहरूको अध्ययन बानी, अतिरिक्त क्रियाकलाप तथा विद्यालयसँगको नियमित सम्पर्कमा कमी आएको भन्दै अभिभावक, शिक्षक तथा सरोकारवालाबाट लिखित र मौखिक सुझाव प्राप्त भएका थिए।

उनले लामो बिदाका कारण बालबालिकामा मोबाइल फोन, टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको प्रयोग उल्लेख्य रूपमा बढेको र त्यसले उनीहरूको व्यवहार तथा मानसिक विकासमा नकारात्मक प्रभाव पार्न थालेको चिन्ता व्यक्त गरिएको बताए।

यही अवस्थालाई सम्बोधन गर्न आइतबार खेलकुद, सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रम, प्रतिभा विकासमूलक गतिविधि, अतिरिक्त कक्षा र अन्य सह–शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गतेदेखि शैक्षिक सत्र २०८३ बाट विद्यालयमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, उर्लाबारी नगरपालिकाले स्थानीय आवश्यकता र शैक्षिक गतिविधिको निरन्तरतालाई ध्यानमा राख्दै आइतबारलाई ‘अतिरिक्त क्रियाकलाप दिवस’ का रूपमा प्रयोग गर्ने नीति अघि सारेको हो।

नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ। स्थानीय तहको यो कदमलाई विद्यार्थीको प्रतिभा विकास, अनुशासन अभिवृद्धि तथा विद्यालय–केन्द्रित गतिविधि विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।