Breaking Nepal

विराटनगर / जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थामात्र पर्याप्त नभई सामाजिक व्यवहारमै समानता र सम्मानको संस्कार स्थापित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जातीय विभेद तथा छुवाछुत राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विभेदरहित समाज निर्माणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
‘विभेदमुक्त समाज, नागरिकको अधिकार, प्रहरीको संकल्प ः न्यायपूर्ण व्यवहार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा तथा गैरसरकारी संस्था महासंघ मोरङ र दलित महिला संघ (फेडो)को सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जातीय विभेद कायम रहँदासम्म समतामूलक र विकसित समाजको परिकल्पना अधुरो रहने बताए । उनले संविधान र कानुनले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै देखिने विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले जातीय विभेद कानुनी रूपमा दण्डनीय अपराध भए पनि समाजका कतिपय तहमा यसको प्रभाव अझै कायम रहेको उल्लेख गरे । उनले न्यायपूर्ण व्यवहार, मानवअधिकारको सम्मान र कानुनको प्रभावकारी कार्यान्वयनमार्फत विभेदरहित समाज निर्माणमा प्रहरी प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले संविधानले छुवाछुत र जातीय विभेदलाई निषेध गरे पनि व्यवहारिक रूपमा अझै पूर्णरूपमा अन्त्य हुन नसक्नु दुःखद पक्ष भएको बताइन् । उनले सामाजिक चेतना अभिवृद्धि, शिक्षा र समुदायस्तरको अभियानमार्फत विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, दलित महिला संघ (फेडो)का प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले जातीय विभेद अन्त्यका लागि कानुनको कार्यान्वयनसँगै सामाजिक रूपान्तरणको अभियानलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले समानता, सामाजिक न्याय र मानव मर्यादामा आधारित समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष व्यक्त गरेका थिए ।