नेपाल–भारत साहित्य महोत्सवमा लघुकथाको संगम, नयाँ कृतिदेखि सर्जनात्मक बहससम्म

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ २१:५९

काठमाडौं / तीन दिनसम्म सञ्चालन भएको नेपाल–भारत साहित्य महोत्सव विविध साहित्यिक गतिविधिसहित सम्पन्न भएको छ । महोत्सवमा साहित्यिक विमर्श, कृति लोकार्पण, कविता वाचन तथा लघुकथा प्रस्तुति प्रमुख आकर्षणका रूपमा रहेका थिए ।

महोत्सवको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा अच्युत घिमिरे ‘उन्मुक्त’, ममता मृदुल, डा. देवी पन्थी र डा. विजय पण्डितलगायत साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा खनालले नेपाल–भारत साहित्यिक तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमाथि विचार राख्दै कविता वाचनसमेत गरेका थिए । कार्यक्रमको सञ्चालन डा. कञ्चनाले गरेकी थिइन् ।

महोत्सवको अन्तिम दिन रोशन पराजुलीको लघुकथासंग्रह ‘नियतिको निर्णय’ सार्वजनिक गरिएको थियो। कृति लोकार्पणसँगै आयोजित लघुकथा विशेष सत्र साहित्यप्रेमीहरूको आकर्षणको केन्द्र बनेको थियो ।

डा. घनश्याम परिश्रमीको सभापतित्व तथा तुलसीहरि कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सत्रमा नेपाल र भारतका लघुकथाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन ममता मृदुलले गरेकी थिइन् ।

लघुकथा वाचनमा गोम विक्रम, रोशन पराजुली, विक्रमभक्त जोशी, रमेन्द्र कोइराला, शुक्रराज कुँवर, रामचन्द्र महतो कुसवाहा, प्रार्थना खनाल, एन्जल निलु, सुनिता निरौला पौडेल, ध्रुवराज थापा ‘पुरुष’, निशिता जोशी, लक्ष्मी पोखरेल, पीपी कोइराला, रामकुमार पण्डितलगायतका स्रष्टाले सहभागिता जनाएका थिए । भारतीय लघुकथाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप अन्तर्राष्ट्रिय आयाम दिएको आयोजकले जनाएको छ ।

महोत्सवले नेपाल र भारतबीचको साहित्यिक सहकार्यलाई थप सुदृढ बनाउनुका साथै लघुकथा विधाको समकालीन अवस्था, सम्भावना र सिर्जनात्मक आदानप्रदानलाई नयाँ उचाइ दिएको सहभागीहरूको भनाइ छ । तीन दिनसम्म चलेको कार्यक्रमले दुई देशका साहित्यकारबीच अनुभव, विचार र सिर्जनाको सेतु निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको निष्कर्ष छ ।