सुनसरीको भाण्टाबारीमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको ज्यान गयो, सिटी चालक फरार

Breaking Nepal

शनिबार ,जेष्ठ २३ , २०८३ ०७:४६

इनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–२ निवासी ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेलको सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा ज्यान गएको हो। पौडेल संखुवासभास्थित प्रहरी चौकी चेपुवा लिङ्गम दरबन्दी भए पनि हाल प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए ।

प्रहरीका अनुसार कार्यालयीय कामका लागि कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जाँदै गरेका पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीबीच राति करिब १० बजे ठक्कर भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिए पनि चिकित्सकले राति १०ः२० बजे मृत घोषणा गरेका थिए ।

घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय रजाक मियाँ (पुने खान) फरार भएका छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेको र चालकको सडकमा पर्याप्त ध्यान नपुग्दा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।