Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलको संरक्षण, सडक तथा पेटीको व्यवस्थित प्रयोग र सहरी सौन्दर्य अभिवृद्धिलाई केन्द्रमा राख्दै अतिक्रमण तथा अव्यवस्थाविरुद्धको अभियानलाई तीव्र बनाएको छ । महानगर प्रहरीको सक्रियतामा विभिन्न स्थानमा अवरोध बनेका सामग्री हटाउने, फोहोर व्यवस्थापन गर्ने तथा सार्वजनिक क्षेत्रलाई खुला र सुरक्षित बनाउने कार्यलाई निरन्तरता दिइएको छ ।
महानगर प्रहरी टोलीले पछिल्लो चरणमा देवकोटा चोक क्षेत्रमा सडक किनार तथा सार्वजनिक स्थानमा थुपारिएका कवाडीजन्य सामग्री हटाएको छ । लामो समयदेखि जथाभावी राखिएका यस्ता सामग्रीले सडकको सौन्दर्य बिगार्नुका साथै आवतजावतमा समेत समस्या सिर्जना गर्दै आएको थियो । महानगरको हस्तक्षेपपछि उक्त क्षेत्रलाई व्यवस्थित बनाइएको छ ।
त्यसैगरी कञ्चनबारी उत्तरतर्फको पेटी क्षेत्रमा निर्माण कार्यका लागि राखिएका ढुंगा, गिटी, बालुवा तथा अन्य निर्माण सामग्री व्यवस्थापन गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । सार्वजनिक पेटी पैदल यात्रुका लागि सुरक्षित रूपमा प्रयोग हुनुपर्ने भए पनि निर्माण सामग्रीका कारण पैदल यात्रु सडकमा हिँड्न बाध्य हुने अवस्था देखिएको थियो । महानगरले यस्ता सामग्री सम्बन्धित पक्षलाई हटाउन निर्देशन दिँदै पेटीलाई पुनः खुला बनाएको जनाएको छ ।
हिमालय रोड क्षेत्रमा जथाभावी फालिएको फोहोरसमेत सफा गरिएको छ । मुख्य सडक आसपास फोहोर थुप्रिँदा वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले सरसफाइलाई प्राथमिकतामा राखिएको महानगरको भनाइ छ । महानगर प्रहरी र सरसफाइ टोलीको संयुक्त प्रयासमा उक्त क्षेत्रको फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको छ ।
महानगरपालिकाले सार्वजनिक सडक, नाला, पेटी तथा खुला स्थान अतिक्रमण गर्ने, फोहोर जथाभावी फाल्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने गतिविधिविरुद्ध नियमित अनुगमन जारी राख्ने जनाएको छ ।
विराटनगरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार महानगरले बजार क्षेत्र, मुख्य चोक, सडक किनार तथा सार्वजनिक उपयोगका स्थानमा विशेष निगरानी बढाएको छ । स्थानीयवासी, व्यवसायी तथा निर्माण व्यवसायीलाई समेत सार्वजनिक स्थानको संरक्षणमा जिम्मेवार बन्न आग्रह गरिएको छ ।
मेयर नागेश कोइरालाले सहरी अनुशासन कायम गर्न सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भएकाले नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताए । सार्वजनिक क्षेत्रलाई निजी प्रयोजनका लागि प्रयोग नगर्ने, फोहोर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्ने तथा पैदल यात्रुको अधिकार सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान आगामी दिनमा थप प्रभावकारी ढंगले विस्तार गरिने महानगरपालिकाले जनाएको छ। यस अभियानले सहरी व्यवस्थापनमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै नागरिकमा जिम्मेवार व्यवहार विकास गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।