Breaking Nepal

गण्डकी — जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी, पोखरा–२३ र २४ अन्तर्गत घाँटीछिना क्षेत्रमा मापसे गरी सवारी चलाउने नौ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्।
वडा प्रहरी कार्यालय बगरबाट परिचालित टोलीले पोखरा–१६ अकलामा लागुऔषध सेवन गरी सवारी चलाउने एक जना, मापसे गर्ने तीन जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ।
माछापुछ्रे गाउँपालिका–८ भेडाभारी क्षेत्रमा गरिएको जाँचका क्रममा मापसे गरी सवारी चलाउने चार जना, सवारीको स्वरूप परिवर्तन गरी चलाउने एक जना तथा ट्राफिक नियम उल्लङ्घन गर्ने छ जना कारबाहीमा परेका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित तालिमप्राप्त कुकुरसहितको टोलीले समेत सवारी जाँच अभियानमा सहभागिता जनाएको थियो।
प्रहरीले रातिको समयमा हुने होहल्ला, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि, गाँजालगायत लागुऔषध सेवन तथा जुवातासजस्ता अवैध क्रियाकलाप नियन्त्रणका लागि नियमित रूपमा ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै आएको जनाएको छ।
प्रहरीका अनुसार पहिलो पटक यस्ता गतिविधिमा संलग्न भेटिएकालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइने गरिएको छ भने दोहोरिएर संलग्न हुने, आपराधिक पृष्ठभूमि भएका वा प्रहरीमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.




