धनगढीमा तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति, चालु वर्षमा सर्वाधिक लाभग्राही

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १४:२३

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममार्फत उक्त सङ्ख्यामा विद्यार्थी लाभान्वित भएका हुन्।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१ देखि छात्रवृत्ति कार्यक्रम सञ्चालन हुँदै आएको छ।

महाशाखा प्रमुख नरेन्द्र खातीका अनुसार आर्थिक वर्ष २०८१ मा २७६, २०८२ मा २८३ र चालु आर्थिक वर्ष २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको उनले बताए।

तीन वर्षको अवधिमा विज्ञान संकायका ४७५, व्यवस्थापनका ३४३, होटल म्यानेजमेन्टका ५२, कानूनका २७, शिक्षाका ९ र मानविकी संकायका ३ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

चालु आर्थिक वर्षमा मात्रै विज्ञानतर्फ १७३, व्यवस्थापनतर्फ १३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ २, शिक्षातर्फ १ र कानूनतर्फ १ जना गरी कुल ३५८ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ।

यसअघि प्रतिस्पर्धात्मक परीक्षामार्फत छात्रवृत्ति वितरण गरिँदै आएकोमा यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्राप्त अंकका आधारमा विद्यार्थी छनोट गरिएको छ।

उपमहानगरपालिका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरमा समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी वर्षहरूमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने जानकारी दिए।