Breaking Nepal

काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारसँग सम्बन्धित एक सय वटा प्राथमिक कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग भएको भेटमा मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारले तोकेका प्राथमिकताका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय सक्रिय रहेको जानकारी दिइन्।
उनले मन्त्रालयभित्र सुधार आवश्यक रहेका धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै आगामी दिनमा ती सबै पक्षलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।
सोही अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न मन्त्रालयले विभिन्न नीतिगत सुधारका काम अघि बढाइरहेको जानकारी दिए।
सचिव देवकोटाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना निर्माणलाई प्राथमिकतामा राखिएको बताए। साथै आगामी आर्थिक वर्षदेखि सुधारका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उनले उल्लेख गरे।
मन्त्रालयले अबदेखि आफ्ना कामकारबाहीबारे सञ्चारकर्मीसँग नियमित संवाद गर्दै सूचना आदानप्रदानलाई थप व्यवस्थित बनाइने जनाएको छ।