प्रतिपक्षले विकासमा सहयोग गर्नुपर्ने पूर्वगृहमन्त्री सुधन गुरुङको भनाइ

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १५:०२

गोरखा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वगृहमन्त्री सुधन गुरुङले प्रतिपक्ष दलहरूले विकास निर्माणका काममा केवल विरोध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राम्रो र सकारात्मक काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने धारणा राखे।

पूर्वगृहमन्त्री गुरुङले देश विकासका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै रास्वपा देश निर्माणको लक्ष्यसहित अघि बढिरहेको पार्टी भएको बताए।

‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्छ,’ उनले भने, ‘विरोधका लागि मात्र विरोध गर्नु उचित होइन।’

गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गरे।

‘मैले गरेका वाचा पहिलेदेखि छन्, अहिले पनि छन् र भविष्यमा पनि रहनेछन्,’ उनले भने, ‘गोरखाले मलाई फोटो खिच्न होइन, काम गर्न निर्वाचित गरेको हो भन्ने मैले बुझेको छु।’

उनले निर्वाचन क्षेत्रका जनताका समस्या समाधानका लागि छिट्टै सचिवालय स्थापना गरी काम अघि बढाइने जानकारी दिए।

साथै जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटक–पटक आएको उल्लेख गर्दै उनले विकास बजेट वितरण गर्दा सन्तुलन र न्यायपूर्ण दृष्टिकोण आवश्यक हुने बताए।