७३७ विद्यार्थीसहित मार्टस मेमोरियल प्लस टुको दमदार सुरुआत : सीप, संस्कार र प्रविधिमा जोड

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १७:३१

विराटनगर / चालु शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टस मेमोरियल प्लस टुले पहिलो वर्षमै उल्लेख्य विद्यार्थी आकर्षित गर्दै आफ्नो शैक्षिक यात्राको सशक्त सुरुआत गरेको छ ।
कलेजले विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा गरी ७३७ जना विद्यार्थी भर्ना गराएसँगै नयाँ विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आइतबार आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शैक्षिक क्षेत्रका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कलेजको शैक्षिक दृष्टिकोण, अध्ययन प्रणाली, अनुशासन, विद्यार्थी विकास कार्यक्रम तथा भविष्यका योजनाबारे जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले केवल जीपीएका आधारमा विद्यार्थीको क्षमता र भविष्यको मूल्यांकन गर्न नहुने बताए । उनले जीवनमा सफलता प्राप्त गर्न शैक्षिक उपलब्धिसँगै संस्कार, अनुशासन, नेतृत्व क्षमता र व्यवहारिक दक्षता महत्वपूर्ण हुने उल्लेख गरे ।


‘४ जीपीए ल्याउने सबै विद्यार्थी सफल हुन्छन् भन्ने छैन, सफलता व्यक्तिको दृष्टिकोण, मेहनत, आचरण र जीवन व्यवस्थापनमा निर्भर हुन्छ,’ उनले भने, ‘विद्यालय र कलेजले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, जीवन जित्ने शिक्षा दिनुपर्छ ।’

कलेजका प्राचार्य सीएम श्रेष्ठले विद्यार्थी र अभिभावकले गरेको विश्वासलाई परिणाममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मार्टस मेमोरियल प्लस टुमा शिक्षा क्षेत्रका ३१ जना अनुभवी शैक्षिक अभियन्ता आबद्ध रहेको जानकारी दिँदै गुणस्तरीय शिक्षाका लागि बलियो शैक्षिक टोली तयार गरिएको बताए ।

‘विद्यार्थी र अभिभावकले देख्नुभएको सपना पूरा गर्नु हाम्रो प्रमुख दायित्व हो,’ उनले भने, ‘यहाँ एक दर्जनभन्दा बढी विद्यालयका पूर्व वा वर्तमान प्रिन्सिपलसहित अनुभवी शिक्षकहरूको टोली छ । हामी विद्यार्थीको शैक्षिक उपलब्धिमात्र होइन, व्यक्तित्व विकास र करिअर निर्माणमा पनि केन्द्रित हुनेछौंं ।’ उनले मेडिकलको प्रवेश परीक्षामा नाम निकाल्ने हरेक विद्यार्थीलाई ५० हजार राशिसहित सम्मान गर्ने घोषणासमेत गरे ।

कलेजका संस्थापक अर्जुन श्रेष्ठले आधुनिक शिक्षाको आवश्यकता अनुरूप सीप, प्रविधि र व्यवहारिक ज्ञानमा आधारित शिक्षालाई प्राथमिकता दिइएको बताए । उनका अनुसार कलेजले विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धात्मक विश्वका लागि सक्षम बनाउने लक्ष्य लिएको छ ।

‘आजको युगमा केवल पाठ्यपुस्तकको ज्ञान पर्याप्त हुँदैन,’ उनले भने, ‘विद्यार्थीलाई डिजिटल क्षमता, सञ्चार सीप, नेतृत्व विकास र व्यावसायिक दक्षतासहितको शिक्षा आवश्यक छ। मार्टसले यही मोडललाई केन्द्रमा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ ।’

उनले यस वर्ष एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका ३२ जना विद्यालय टपरहरू समेत मार्टस मेमोरियल प्लस टुमा भर्ना भएको जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत तथा वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले कलेजको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि संस्थाले लिएको पहलको प्रशंसा गरे ।

विज्ञान संकायका संयोजक किरण दासले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता, शैक्षिक अनुशासन तथा कलेजका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । सो अवसरमा एसईईमा ४ जीपीए प्राप्त गरी कलेजमा भर्ना भएका नारायण लुइँटेल, सुयोग ढकाल र सचिन्द मण्डललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

विद्यार्थीहरूको तर्फबाट अक्षता पाण्डे र आकांक्षा मिश्रले मन्तव्य राख्दै व्यवस्थित शैक्षिक वातावरण र अनुभवी नेतृत्व रहेको कलेजमा अध्ययन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

प्लस टु सञ्चालक समितिका अध्यक्ष विष्णु डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थापक इन्द्रकुमार राईले गरेका थिए । विद्यार्थीहरूको नृत्य, गायन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।