विराटनगरमा जुवाखालमा प्रहरीको छापा : अढाई लाखभन्दा बढी नगदसहित १२ जना पक्राउ

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ ०९:३१
विराटनगर / मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा सञ्चालन भइरहेको जुवाखालमा छापा मार्दै १२ जनालाई पक्राउ गरेको छ । छापाका क्रममा प्रहरीले नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ, २२ बुक तास, १४ वटा मोबाइल फोन र तीन वटा मोटरसाइकल बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय महेश अग्रवालको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शनिबार राति करिब १ः३० बजे छापा मारेको थियो ।

प्रहरीले विराटनगरका विभिन्न वडाका साथै ग्रामथान, बुढीगंगा, कटहरी र उदयपुरबाट आएका १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा १९ वर्षीय राधे कामत, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी, ३९ वर्षीय पोषण सहनी, ४० वर्षीय दिलिप साह, ४२ वर्षीय भरतकुमार राई, ४६ वर्षीय ओमनाथ ढकाल, ४६ वर्षीय लोकचन्द्र कार्की, ४७ वर्षीय रामु कामत, ३३ वर्षीय रञ्जित साह, ७१ वर्षीय मेदिनीप्रसाद प्रसाई र १६ वर्षीय सुरज शर्मा रहेका छन् ।

प्रहरीका अनुसार जुवाखालबाट बरामद नगद, तास, मोबाइल फोन तथा सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

घरधनी महेश अग्रवालको घरबाट जुवाखाल सञ्चालन भएको खुले पनि उनलाई हालसम्म पक्राउ नगरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय अवैध जुवा तथा सट्टेबाजी नियन्त्रण अभियानलाई तीव्र बनाएको बताउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही निरन्तर रहने जनाएको छ ।