रवि लामिछानेको सर्वदलीय संवादमा कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित, प्रतिनिधि पठाएर सहभागिता

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ ०९:३६

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। दुवै दलले शीर्ष नेतृत्वको सट्टा संसदीय प्रतिनिधिमार्फत बैठकमा सहभागिता जनाउने भएका हुन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा सोमबार बिहान ९ बजे बस्ने बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष तथा सभापतिसहित दुई जना प्रतिनिधिलाई निमन्त्रणा गरिएको थियो। तर, कांग्रेस र एमालेले शीर्ष नेताको उपस्थिति नगराई आफ्ना संसदीय प्रतिनिधि पठाउने निर्णय गरेका छन्।

कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे बैठकमा सहभागी हुनेछन्। कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार पार्टी सभापति तथा शीर्ष नेतृत्व बैठकमा सहभागी हुने कार्यक्रम छैन।

त्यस्तै, एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर बैठकमा सहभागी हुनेछन्। रास्वपाले दलका अध्यक्ष तथा सभापतिलाई नै उपस्थित हुन आग्रह गरे पनि एमालेले शीर्ष नेतृत्वको सट्टा संसदीय प्रतिनिधि पठाएको हो।

हालै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका रास्वपा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा प्रमुख दलहरूसँग संवाद र छलफल गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद्को भूमिका तथा समसामयिक राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित बैठक बोलाइएको हो।

शीर्ष राजनीतिक दलका अध्यक्षहरू अनुपस्थित रहने भए पनि बैठकमा विभिन्न दलका प्रतिनिधिहरूबीच समसामयिक राजनीतिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।