Breaking Nepal

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनस्थित पूर्व–पश्चिम राजमार्गमा सडक किनारमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार राति करिब ११ः१५ बजे झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल टायर पन्चर भएर सडकको साइडमा रोकिएको १ ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ निवासी २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार अन्य दुई जना पनि दुर्घटनामा घाइते भएका छन् । घाइते हुनेमा इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र इनरुवा–३ का २८ वर्षीय आशिष चौधरी रहेका छन् । आर्यनको विराट नर्सिङ होममा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आशिषको शरीरमा गम्भीर चोटपटक नदेखिएकाले प्राथमिक उपचारपछि घर फर्किएका छन् ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनापछि टिपर र चालक कोशी गाउँपालिका–३ निवासी ४८ वर्षीय लाल मोहमद मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाइकल तीव्र गतिमा रहेको र त्यसकै कारण दुर्घटना भएको देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।