Breaking Nepal

झापा / झापाका प्रमुख चिया उत्पादन क्षेत्रहरूमा ‘लुपर क्याटरपिलर’ किराको प्रकोप तीव्र बन्दै गएपछि चिया उद्योग र किसान दुवै गम्भीर संकटमा परेका छन्। चियाका कोमल तथा हरिया पात नष्ट गर्दै बोटको वृद्धि प्रणालीमै असर पुर्याउने यो किराले यस वर्ष धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुर्याएको प्रारम्भिक तथ्यांकले देखाएको छ।
चिया उत्पादनको मुख्य आधार मानिने वर्षायाम सुरु हुनुअघि नै किराको आक्रमण बढेपछि हरियो पत्ती उत्पादनमा उल्लेख्य गिरावट आएको छ। यसले किसानको आम्दानी मात्र होइन, चिया उद्योगको उत्पादन चक्रसमेत प्रभावित हुने संकेत देखिएको सरोकारवालाहरू बताउँछन्।
झापाको हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका लगायतका क्षेत्रमा फैलिएको प्रकोपका कारण सयौं बिघा क्षेत्रफलमा लगाइएको चियाबगान प्रभावित भएका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्याएको लुपर क्याटरपिलरले यस वर्ष धेरै बगानमा आधाभन्दा बढी उत्पादन नष्ट गरिसकेको छ।
उनका अनुसार वैशाख–जेठदेखि सक्रिय बनेको यो किराले चियाका कोमल पात खाएर प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउने, हरितकण नष्ट गर्ने र अन्ततः बोट नै सुकाउने गरेको छ। परिणामस्वरूप उत्पादनको आधारभूत संरचनामै असर परेको छ।
सामान्य अवस्थामा असार–साउन महिनामा वार्षिक हरियो पत्ती उत्पादनको ठूलो हिस्सा संकलन हुने भए पनि यस वर्ष उत्पादन घट्ने निश्चितजस्तै देखिएको किसानहरू बताउँछन्। दैनिक हरियो पत्ती बिक्रीबाट जीविकोपार्जन गर्दै आएका सयौं परिवारको आयस्रोतमा प्रत्यक्ष असर परेको छ।
भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको सम्पूर्ण उत्पादन प्रणाली प्रभावित हुन सक्छ। “पर्याप्त वर्षा भएकाले उत्पादन बढ्ने अपेक्षा थियो, तर दोस्रो टिपाइ सुरु भएसँगै किराको प्रकोप व्यापक बनेपछि उद्योगी र किसान दुवै निराश बनेका छन्,” उनले भने।
ठूला चिया बगानहरूमा क्षति झन् भयावह देखिएको छ। १२५ बिघा क्षेत्रफलमा फैलिएको कालिका टी–स्टेटमा लुपर क्याटरपिलरले ९० प्रतिशतभन्दा बढी चियापत्ती नष्ट गरेपछि उद्योग सञ्चालन नै प्रभावित भएको छ। कम्पनीका म्यानेजर शिलाकान्त चौधरीका अनुसार उत्पादन अभावका कारण कारखाना बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस्तै, १३५ बिघा क्षेत्रफलमा फैलिएको वैभव टी–स्टेटका प्रबन्धक ओमप्रकाश झाले पछिल्ला केही वर्षयता किराको प्रकोप असामान्य रूपमा बढ्दै गएको बताए। उनका अनुसार पहिले सामान्य विषादीबाट नियन्त्रण हुने कीरा अहिले कडा खालका कीटनाशकप्रति समेत प्रतिरोधी बन्दै गएको छ, जसले नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका प्रमुख डा. लक्ष्मण पोखरेलले जिल्लाका साना तथा ठूला दुवै चिया बगानमा प्रकोप बढिरहेको स्वीकार गर्दै नियन्त्रणका लागि प्राविधिक पहल तीव्र बनाइएको जानकारी दिए।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले प्रकोप नियन्त्रणमा ढिलाइ भए झापाको चिया उद्योग नै गम्भीर जोखिममा पर्न सक्ने चेतावनी दिए। उनले चिया क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी नियन्त्रण कार्यक्रम, प्राविधिक सहयोग र सरकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
चिया नेपालको महत्वपूर्ण नगदे बाली र निर्यातमुखी कृषि उत्पादनमध्ये एक हो। झापामा देखिएको लुपर क्याटरपिलरको बढ्दो प्रकोप नियन्त्रण गर्न नसकिए उत्पादन, रोजगारी र निर्यात आम्दानीमा समेत नकारात्मक असर पर्ने उद्योगीहरूको चिन्ता छ।