Breaking Nepal

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका ५१ वर्षीय थमप्रसाद पौडेल आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित छन्। तर उनको यो सफलतापछाडि वैदेशिक रोजगारीको असफल सपना र लामो सङ्घर्षको कथा लुकेको छ।
विसं २०६३ मा अफगानिस्तान रोजगारीका लागि जान उनले ऋण खोजेर दलाललाई तीन लाख रुपैयाँ बुझाएका थिए। तर पैसा डुबेपछि विदेश जाने सपना पनि अधुरै रह्यो। त्यसपछि उनले वैदेशिक रोजगारीको सोच त्यागेर गाउँमै भैँसीपालन र तरकारीखेती सुरु गर्ने निर्णय गरे।
दुईवटा भैँसीबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित फार्ममा रूपान्तरण भएको छ। हाल उनको गोठमा आठवटा भैँसी छन् भने परिवारका सदस्यसँगै एक जनाले नियमित रोजगारी पाएका छन्। विसं २०७३ मा स्थापना गरिएको ‘पौडेल भैँसीपालन फर्म’ अहिले जिल्लाकै सफल उद्यममध्ये एक मानिन्छ।
भैँसीपालनसँगै उनले दुई रोपनी जमिनमा तरकारीखेती पनि गरिरहेका छन्। गोठबाट निस्कने मल तरकारीबारीमा प्रयोग हुने र तरकारीका पातपातिङ्गर पशुको आहारका रूपमा उपयोग हुने भएकाले दुवै व्यवसाय एकअर्काका पूरक बनेका छन्।
हाल फार्मबाट दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ भने बाँकी दूध नियमित ग्राहकलाई बिक्री गरिन्छ। बेनी–जोमसोम सडक किनारमा रहेको उनको घरमा यात्रु तथा स्थानीय ग्राहकको भीड लाग्ने गरेको छ। काठको ठेकीमा जमाइएको दहीको स्वाद र गुणस्तरका कारण ग्राहकहरू पटक–पटक फर्केर आउने गरेको पौडेल बताउँछन्।
उनका अनुसार दूध, दही र तरकारी बिक्रीबाट मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत हुने गरेको छ। यही आम्दानीबाट उनले वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएका छन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न मद्दत पुगेको उनले बताए। पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पुर्याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन्।
विदेश जाने सपना पूरा नभए पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिएनन्। बरु असफलतालाई अवसरमा बदल्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल भएका छन्। उनका अनुसार मेहनत, धैर्य र लगनशीलता भए आफ्नै गाउँमा बसेर पनि सफलता हासिल गर्न सकिन्छ।