सानै उमेरदेखि सेवाभावको संस्कार : लर्ड बुद्ध निकेतनका विद्यार्थीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ १६:१५

विराटनगर / शिक्षासँगै सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको विकासलाई प्राथमिकतामा राख्दै विराटनगरस्थित लर्ड बुद्ध निकेतन स्कुलले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न तथा फलफूल सहयोग गरेको छ ।

विराटनगर–२, दुर्गा चोकस्थित विद्यालयले आइतबार विराटनगर–८ मा रहेको बिराटेश्वर वृद्धाश्रममा सहयोग सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यालयका कक्षा १ र २ मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यार्थीहरूले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई फलफूल तथा दैनिक उपभोग्य खाद्य सामग्री हस्तान्तरण गर्नुका साथै उनीहरूसँग भेटघाट गरी सम्मान व्यक्त गरेका थिए । विद्यालयले बालबालिकामा सानैदेखि सेवा, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वृद्धाश्रमका अध्यक्ष जगत अर्यालले यस्ता गतिविधिले बालबालिकामा मानवीय संवेदना र सामाजिक सेवाप्रतिको सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले वृद्धाश्रममा हाल ७२ जना असहाय तथा आवश्यकतामा रहेका ज्येष्ठ नागरिक आश्रित रहेको जानकारी दिँदै विद्यालयको पहल प्रशंसनीय रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका निर्देशक नेत्र पोखरेल, भाइस प्रिन्सिपल मनोज ओझा, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

विद्यालयले शैक्षिक उपलब्धिसँगै सामाजिक मूल्य, अनुशासन, नैतिकता र सेवाभावसम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा जिम्मेवार नागरिकको गुण विकास गर्ने प्रयासलाई निरन्तरता दिइने विद्यालयको भनाइ छ ।