साहित्यिक सशक्तीकरणमा गल्याङको पहल : दुईदिने कवितालेखन प्रशिक्षण सम्पन्न, स्रष्टामा नयाँ ऊर्जा

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ १६:२६

स्याङ्जा / भाषा, कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै स्याङ्जाको गल्याङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुईदिने ‘कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) प्रशिक्षण कार्यक्रम–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ ।

गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा सञ्चालित कार्यक्रमले स्थानीय साहित्यिक प्रतिभा पहिचान, सिर्जनशील क्षमताको विकास तथा साहित्यिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजित प्रशिक्षणमा वरिष्ठ साहित्यकार कलानिधि दाहालले शास्त्रीय छन्द र मुक्तलय, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्द तथा युवा साहित्यिक अभियन्ता मिलन समीरले गजल र मुक्तक विधाबारे प्रशिक्षणात्मक सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले साहित्य सिर्जनाका आधारभूत सिद्धान्तदेखि व्यावहारिक लेखन कौशलसम्मका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा सहभागी थिए। नगरपालिकाकी उपप्रमुख एवं प्रतिष्ठानकी संरक्षक हेमा तिमिल्सिना न्यौपाने विशिष्ट आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित थिइन् । कार्यक्रममा शिक्षा शाखा प्रमुख हिमलाल भण्डारी र नगर शिक्षा समितिका सदस्य द्रवेन्द्रदेव खनाललगायतको उपस्थिति रहेको थियो ।

समापन सत्र सिर्जनामय र उत्साहपूर्ण बनेको थियो। प्रशिक्षणमा सहभागी स्रष्टाहरूले आफूले सिर्जना गरेका कविता, गजल र मुक्तक प्रस्तुत गर्दै सिकाइ तथा अनुभव आदानप्रदान गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले लेखन क्षमतामा निखार ल्याउनुका साथै साहित्यप्रतिको आत्मविश्वास बढाएको धारणा व्यक्त गरे ।

प्रशिक्षार्थीका तर्फबाट पार्वती थापा पल्ली मगर ‘पारु’ र राम ज्ञवालीले अनुभव मन्तव्य प्रस्तुत गरेका थिए भने डिल्लीराम भण्डारीले प्रशिक्षणको उपलब्धि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई ‘गल्याङ प्रज्ञा सम्मान’ प्रदान गर्दै नगदसहित सम्मान गरिएको थियो । सम्मानले साहित्यिक क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको उच्च कदर गरेको आयोजकले जनाएको छ ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका सचिव तथा युवा साहित्यिक अभियन्ता मिलन समीरले कार्यक्रमको संयोजन र सञ्चालन गरेका थिए । प्रतिष्ठानले आगामी दिनमा पनि साहित्य, भाषा, कला तथा संस्कृतिको विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।