अर्किड कलेजमा ८ सय नयाँ विद्यार्थीको भव्य स्वागत, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा कलेजको प्रतिबद्धता

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ १६:४१

विराटनगर / विराटनगरस्थितअर्किड कलेजले कक्षा ११ मा भर्ना भएका ८ सय नयाँ विद्यार्थीलाई भव्य स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको औपचारिक शुभारम्भ गरेको छ ।

सोमबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कलेजले नयाँ विद्यार्थीलाई उच्च शिक्षासँगै नेतृत्व, व्यक्तित्व विकास र व्यावहारिक दक्षतामा केन्द्रित शिक्षण प्रणालीबारे जानकारी गराएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले आधुनिक शिक्षाको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र हासिल गर्नु नभई विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न सक्षम बनाउनु रहेको बताए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर ज्ञानको खोजी गर्न, अनुसन्धानमुखी सोच विकास गर्न र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी बन्न प्रेरित गरे ।

‘तपाईंहरू यहाँ केवल अध्ययन गर्न होइन, आफ्नो सम्भावना पहिचान गर्न आउनुभएको हो,’ उनले भने, ‘अर्किडले तपाईंहरूको प्रतिभा उजागर गर्ने वातावरण सिर्जना गर्नेछ। यहाँ बित्ने समयले तपाईंको भविष्यको दिशा तय गर्नेछ। ’

भट्टराईले शैक्षिक उपलब्धिभन्दा पनि इमानदारिता, अनुशासन र चरित्र निर्माणलाई दीर्घकालीन सफलताको आधार मान्दै जिम्मेवार नागरिक बन्न आग्रह गरे ।

कलेजका निर्देशक दिपेश बास्तोलाले अर्किडले विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षा नभई रोजगार, उद्यमशीलता र नेतृत्व क्षमतासहितको दक्ष जनशक्तिका रूपमा तयार पार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले अर्किडमा अध्ययन गर्ने विद्यार्थीको भविष्यलाई प्रतिस्पर्धी, सुरक्षित र अवसरमूलक बनाउन कलेज प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमको समापन गर्दै कलेजका अध्यक्ष अमित ढकालले स्थापना कालदेखि नै अर्किडले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज र राष्ट्रलाई आवश्यक दक्ष मानव संसाधन उत्पादनमा योगदान पुर्‍याउँदै आएको बताए। उनले नयाँ विद्यार्थीलाई अर्किड परिवारमा स्वागत गर्दै आगामी दुई वर्षलाई उपलब्धिमूलक र स्मरणीय बनाउन आग्रह गरे ।

कार्यक्रममा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गायन तथा विविध सिर्जनात्मक कार्यक्रमले समारोहलाई थप उत्साहपूर्ण र आकर्षक बनाएको थियो ।

अर्किड कलेजले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीमा आत्मविश्वास, प्रेरणा र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो ।