रोशीमा बाढीसँगै जोखिम बढेपछि वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

Breaking Nepal

मंगलबार ,जेष्ठ २६ , २०८३ १४:३२

काभ्रे / निरन्तर वर्षासँगै रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

मंगलबार काभ्रेपलाञ्चोकको बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशी क्षेत्रको माथिल्लो भेगमा अत्यधिक वर्षा भएपछि रोशी खोलाको जलस्तर उल्लेख्य रूपमा बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

उनका अनुसार नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको हो।

वर्षासँगै रोशी गाउँपालिका–चारसयबेशी नजिक पहिरो खसेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै नदीको बहावसमेत जोखिमपूर्ण बनेपछि राजमार्गमा यात्रा गर्न असुरक्षित देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोशी खोलाको जलस्तर सामान्य अवस्थामा फर्किएपछि तथा चारसयबेशी क्षेत्रमा खसेको पहिरो हटाएर सडक सञ्चालनयोग्य बनाएपछि मात्रै आवागमन पुनः सुचारु गरिनेछ।

हाल बीपी राजमार्ग प्रयोग गरी पूर्वतर्फ जाने तथा पश्चिमतर्फ आउने सवारीसाधनलाई धुलिखेल, खुर्कोट र नेपालथोक क्षेत्रमा रोकिएको छ। यसका लागि काभ्रे र सिन्धुलीका सुरक्षा निकायबीच समन्वय गरिएको प्रहरीको भनाइ छ।

प्रहरी प्रशासनले मौसम तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुन सक्रिय भएसँगै नदी किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।