Breaking Nepal

विराटनगर / ग्रीनल्याण्ड कलेज विराटनगरले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ मा भर्ना भएका ७५० विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरेको छ। विज्ञान र व्यवस्थापन संकायमा अध्ययन सुरु गरेका विद्यार्थीलाई लक्षित गर्दै आयोजित कार्यक्रममा शिक्षा, व्यक्तित्व विकास र भविष्य निर्माणका विषयमा प्रेरणामूलक सन्देश दिइएको थियो।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विद्यार्थीलाई केवल शैक्षिक उपलब्धिमा सीमित नभई जिम्मेवार र असल नागरिक बन्नेतर्फ पनि केन्द्रित हुन आग्रह गरिन्। उनले कक्षा ११ र १२ को अध्ययनले विद्यार्थीको उच्च शिक्षा तथा करिअर यात्राको आधार तयार गर्ने उल्लेख गर्दै मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धता सफलताको मुख्य सूत्र रहेको बताइन्।
उनले ग्रीनल्याण्ड कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिन्।
कलेजका प्रिन्सिपल दिनेश दाहालले ‘प्लस टु’ तहलाई जीवनको महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै आगामी दुई वर्षले विद्यार्थीको उच्च शिक्षा, पेशा तथा अवसरको दिशा निर्धारण गर्ने बताए। उनले कलेजले उपलब्ध गराएको शैक्षिक वातावरण, स्रोतसाधन र अवसरको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीलाई प्रेरित गरे।
“शिक्षाको गुणस्तर मात्र होइन, संस्थाको गौरवपूर्ण इतिहासलाई पनि निरन्तरता दिने जिम्मेवारी अब नयाँ पुस्ताका विद्यार्थीको काँधमा आएको छ,” उनले भने।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनिष भट्टराई, कलेजका भाइस प्रिन्सिपल ईश्वरीप्रसाद मिश्र, व्यवस्थापन संकायतर्फको प्रवेश परीक्षामा प्रथम भएकी समीक्षा मुडियारी तथा अभिभावक हरिनारायण चौधरीले विद्यार्थीलाई सफल शैक्षिक यात्राका लागि शुभकामना दिएका थिए।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांगीतिक प्रस्तुति समेत दिएका थिए। कलेजमा हाल विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयमा अध्ययन–अध्यापन हुँदै आएको छ।