बालेन क्याबिनेटमा नयाँ शक्ति सन्तुलन : सुधन गुरुङ गृहमन्त्री, महावीर पुन नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा

Breaking Nepal

मंगलबार ,जेष्ठ २६ , २०८३ १७:२५

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा मंगलबार महत्वपूर्ण हेरफेर गरिएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा दुवै मन्त्रीले शपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री शाहले मंगलबार नै गुरुङलाई गृहमन्त्री तथा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

मन्त्रिपरिषद् पुनर्गठनसँगै गृहमन्त्रालयको नेतृत्व पुनः गुरुङको हातमा पुगेको छ। यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका गुरुङको राजीनामापछि उक्त मन्त्रालय प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए। नयाँ नियुक्तिसँगै गृह प्रशासनको नेतृत्व फेरि गुरुङले सम्हाल्ने भएका छन्।

त्यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पहिलोपटक गठन गरिएको मन्त्रालय हो। नवप्रवर्तन, अनुसन्धान तथा प्रविधि विकासलाई प्राथमिकता दिने उद्देश्यसहित स्थापना गरिएको मन्त्रालयको नेतृत्व महावीर पुनले सम्हाल्ने भएका छन्। प्रविधि तथा सामाजिक नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको नियुक्तिलाई सरकारले नवप्रवर्तनमुखी नीति कार्यान्वयनको संकेतका रूपमा लिएको छ।

मन्त्रिपरिषद्को नयाँ वरीयताक्रमअनुसार गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता दिइएको छ भने नवप्रवर्तनमन्त्री पुन आठौँ स्थानमा रहेका छन्।

गुरुङ गोरखा जिल्लाबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।