Breaking Nepal

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले संसद्मा प्रधानमन्त्री बालेन शाह ले दिएको अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमामाथि प्रश्न उठाएको बताएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको जवाफ ‘र्याप शैली’को रहेको टिप्पणी गरे। उनले संसद्को रोस्ट्रम कुनै र्याप प्रस्तुति गर्ने मञ्च नभई गम्भीर राजनीतिक बहस र जवाफदेहिताको थलो भएको बताए।
प्रधानमन्त्रीको प्रस्तुति शैली आफूलाई मन परे पनि संसद्मा प्रयोग गरिएका केही अभिव्यक्तिले पदको मर्यादा कमजोर बनाएको उनको भनाइ थियो। प्रधानमन्त्रीले आफ्ना शब्द र अभिव्यक्तिको प्रभावबारे पर्याप्त ध्यान नदिएको आरोप समेत उनले लगाए।
आङ्देम्बेका अनुसार जेठ १७ गतेको संसद् बैठकमा प्रधानमन्त्रीको प्रस्तुति एकपक्षीय र असन्तुलित देखिएको थियो। त्यसबेला नै प्रधानमन्त्री आफ्नो अभिव्यक्तिमा चिप्लिएको महसुस भएको भए पनि पछि हेर्दा केही भनाइ शङ्कास्पद देखिएको उनले बताए।
उनले प्रधानमन्त्रीले संसद्मा आएर विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने माग पनि गरेका छन्।