उच्च शिक्षाको जग बलियो बनाउन एभरेष्टको अभिमुखीकरण, प्रिन्सिपल पुरी भन्छन्– ‘लक्ष्यसहितको मेहनत नै सफलताको सूत्र’

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १७:०४

विराटनगर / उच्च शिक्षातर्फ अघि बढेका विद्यार्थीलाई लक्ष्यप्रति केन्द्रित, अनुशासित र प्रतिस्पर्धी बनाउन विराटनगरस्थित एभरेष्ट स्कुलले कक्षा–११ का नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगर–५ मा रहेको विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रेरणादायी वक्ता डा. ताराप्रसाद गिरीले विद्यार्थी जीवनको महत्त्व, भविष्य निर्माणमा लक्ष्यको भूमिका तथा सफलता हासिल गर्न आवश्यक दृढता र निरन्तरताका विषयमा विस्तृत रूपमा प्रकाश पारे ।

उनले कक्षा ११ र १२ लाई विश्वविद्यालय शिक्षातर्फ प्रवेश गर्ने सबैभन्दा महत्वपूर्ण चरणका रूपमा चित्रण गर्दै यही अवधिमा गरिने अध्ययन, अनुशासन र मेहनतले आगामी करियरको दिशा निर्धारण गर्ने बताए। “स्पष्ट लक्ष्य, दृढ संकल्प र निरन्तर प्रयासले असम्भव देखिने सफलता पनि सम्भव हुन्छ,” उनले भने ।

डा. गिरीले विश्वका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूका उदाहरण प्रस्तुत गर्दै चुनौती र अवरोधलाई अवसरका रूपमा ग्रहण गर्न विद्यार्थीलाई प्रेरित गरे । विद्यार्थी व्यक्तिगत सफलताका मात्र वाहक नभई परिवारको आशा, समाजको अपेक्षा र राष्ट्रको भविष्यसमेत भएकाले आफ्नो क्षमता पहिचान गरी जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले आधुनिक शिक्षामा केवल पाठ्यपुस्तकको ज्ञान पर्याप्त नहुने उल्लेख गर्दै नेतृत्व क्षमता, सञ्चार सीप, समस्या समाधान क्षमता तथा सकारात्मक सोचको विकासमा समेत विद्यार्थीले ध्यान दिनुपर्ने बताए । विद्यालयले उपलब्ध गराउने अवसर र शैक्षिक वातावरणको अधिकतम उपयोग गर्न सके विद्यार्थीको भविष्य अझ सुदृढ बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विद्यार्थीको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासका लागि आवश्यक सम्पूर्ण वातावरण सिर्जना गरेको उल्लेख गर्दै विद्यार्थीलाई कुनै समस्या वा आवश्यकता भए खुला रूपमा विद्यालय प्रशासनसमक्ष राख्न आग्रह गरे ।

“हामी विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढिरहेका छौं। शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव र आवश्यकताप्रति विद्यालय सधैं सकारात्मक छ,” उनले भने ।

भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा ११ र १२ को उपलब्धिले विश्वविद्यालय तहको शैक्षिक यात्रालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले विद्यार्थीले सुरुदेखि नै योजनाबद्ध रूपमा अध्ययनमा ध्यान दिनुपर्ने बताए ।

यसैगरी एभरेष्ट कलेजका को-अर्डिनेटर भुवन गौतमले कलेज जीवनमा पालना गर्नुपर्ने अनुशासन, शैक्षिक आचारसंहिता, विद्यार्थी आचरण तथा उपलब्ध शैक्षिक र अतिरिक्त सुविधाबारे जानकारी गराएका थिए ।

विद्यालयका अनुसार एभरेष्टमा विज्ञान, कम्प्युटर विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्ययन–अध्यापन हुँदै आएको छ। सूचना प्रविधि क्षेत्रमा बढ्दो मागलाई मध्यनजर गर्दै विद्यालयले चालु शैक्षिक सत्रदेखि ‘ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)’ कार्यक्रमसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, अनुभवी शिक्षक र करियर अभिमुख मार्गदर्शनमार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ ।