Breaking Nepal

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन नेतृत्व चयनको तीव्र प्रतिस्पर्धासँगै रोचक बनेको छ। प्रदेश सभापति पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग समाप्त भएको छ भने अधिवेशन चुनावी प्रतिस्पर्धातर्फ उन्मुख भएको छ।
मोरङको विराटचौकमा बुधबार सुरु भएको अधिवेशनमा सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशन सञ्चालनका लागि नवराज पुडासैनीको संयोजकत्वमा गठित निर्वाचन समितिले उम्मेदवारी दर्ताको जानकारी दिएको हो।
प्रदेश समिति सदस्य पदका लागि समेत उल्लेख्य आकर्षण देखिएको छ। निर्वाचन समितिका अनुसार ६१ सदस्यीय प्रदेश कार्यसमितिका सदस्य पदमा ७१ जनाको उम्मेदवारी परेको छ। यसले रास्वपाभित्र संगठन विस्तारसँगै नेतृत्वमा पहुँच बढाउन नेताहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गरेको छ।
रास्वपाको विधानअनुसार प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री (फरक लिंगबाट), कोषाध्यक्ष, प्रवक्ता तथा अन्य सदस्य रहने व्यवस्था छ। अधिवेशनबाट पहिलो चरणमा सभापति र सदस्यहरू निर्वाचित हुनेछन् भने त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ।
प्रदेश नेतृत्वका लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ र प्रदेश कोषाध्यक्ष चन्द्र राईलाई बलिया प्रतिस्पर्धीका रूपमा हेरिएको छ। यस्तै केन्द्रीय उद्योग विभागका सदस्य पारशमणि गेलाल तथा सहकारी विभागका उपप्रमुख चन्द्रकुमार गौली पनि प्रभावशाली दाबेदारका रूपमा उभिएका छन्। अन्य उम्मेदवारहरूले पनि जिल्लास्तरमा आफ्नो प्रभाव विस्तार गरिसकेकाले निर्वाचन परिणाम अनुमान गर्न कठिन हुने प्रतिनिधिहरू बताउँछन्।
रास्वपाले हालै कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरिसकेको छ। अधिकांश जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश अधिवेशनमा पनि लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यास थप सशक्त बनेको पार्टी वृत्तको भनाइ छ।
पार्टीका अनुसार अधिवेशनमा प्रदेशभरिबाट करिब एक हजार प्रतिनिधिको सहभागिता रहेको छ। प्रतिनिधिहरूले चयन गर्ने नयाँ नेतृत्वले आगामी संघीय तथा स्थानीय निर्वाचनको रणनीति, संगठन विस्तार, जनसम्पर्क अभियान तथा प्रदेशस्तरीय राजनीतिक एजेन्डाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार कोशी प्रदेश रास्वपाका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण प्रदेश मानिन्छ। यहाँबाट चयन हुने नेतृत्वले पार्टीको संगठनात्मक क्षमता, आन्तरिक व्यवस्थापन तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाको विश्वसनीयता मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गर्नेछ।
पहिलो प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीलाई संगठन निर्माणको प्रारम्भिक चरणबाट संस्थागत संरचनातर्फ लैजाने जिम्मेवारी पाउने भएकाले यस निर्वाचनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई कोशी प्रदेशमा रास्वपाको भावी राजनीतिक दिशाको निर्णायक परीक्षा समेतका रूपमा हेरिएको छ ।