सीमावर्ती जहदामा ९२२ किलो गाँजा बरामद, तस्करीमा प्रयोग भएका पिकअप र भारतीय मोटरसाइकल नियन्त्रणमा

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ ०८:५०

विराटनगर / मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले करिब एक टन अवैध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सञ्चालन गरिएको निगरानी तथा अपरेसनका क्रममा ९२२.२ किलोग्राम गाँजासहित तस्करीमा प्रयोग भएको पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग तथा बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा उक्त गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई भारतीय नम्बर प्लेट (बीआर ३८ जेड ७४५२) भएको मोटरसाइकलले स्कर्टिङ गर्दै लैजाँदै गरेको अवस्थामा सुरक्षाकर्मीले शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएका थिए ।

सुरक्षा टोलीले पछ्याउन थालेपछि तस्करीमा संलग्न चालकहरू गाडी र मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए । त्यसपछि गरिएको खानतलासीका क्रममा पिकअपभित्र धानको भुसले छोपेर लुकाइएको २९ पोका गाँजा फेला परेको थियो। तौल गर्दा उक्त गाँजा ९२२.२ किलोग्राम रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध तस्करीका नयाँ तरिका प्रयोग हुन थालेका छन्। वैध कृषि सामग्री वा अन्य सामानले छोपेर गाँजा ओसारपसार गर्ने प्रयास बढ्दै गएपछि सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको छ । विशेषगरी भारततर्फ लक्षित अवैध कारोबार रोक्न संयुक्त सुरक्षा संयन्त्रमार्फत नियमित गस्ती, सूचना संकलन र चेकजाँचलाई तीव्र बनाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

बरामद गरिएको गाँजा, पिकअप गाडी र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ । फरार भएका व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी कार्य जारी रहेको जनाइएको छ ।

लागूऔषध नियन्त्रण तथा सीमापार अपराध न्यूनीकरणका लागि सुरक्षा निकायले सीमावर्ती क्षेत्रहरूमा निगरानी थप सशक्त बनाउँदै गएको अवस्थामा यो बरामदगी पछिल्लो समयकै ठूलो सफलतामध्ये एक मानिएको छ ।