मध्यपहाडी लोकमार्गमा पुनः अवरोध, खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले ठप्प

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ १०:०९

खोटाङ / मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्डमा ठूलो पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षापछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित बुवासुङ–लामीडाँडा जोड्ने लप्से (पंखु) खोलाको क्षेत्रमा पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।

स्थानीयका अनुसार जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रअन्तर्गत लामीडाँडाको ढाँडखर्कबाट लेदोमाटोसहितको विशाल पहिरो खसेको थियो । पहिरोले सडक मात्र होइन, तल्लो भेगका कुलो तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएको बताइएको छ ।

सडक अवरुद्ध भएसँगै भोजपुर–काठमाडौं तथा दिक्तेल, बानाचुङ क्षेत्रबाट भोजपुर हुँदै पूर्वी नेपालका विभिन्न गन्तव्यतर्फ सञ्चालन हुने सवारी साधन रोकिएका छन् । दैनिक यात्रु तथा मालवाहक ढुवानीमा समेत असर परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षतिग्रस्त सडक खुलाउन डोजर, स्काभेटर र प्राविधिक जनशक्ति परिचालन गरिएको जनाएको छ । अवरोध हटाउने काम तीव्र गतिमा अघि बढाइएको भए पनि पहिरोको परिमाण ठूलो भएकाले सडक सञ्चालनमा आउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।

स्थानीयवासीका अनुसार लप्से खोलाको क्षेत्र वर्षेनी प्राकृतिक विपद्को जोखिममा पर्दै आएको छ । केही दिनअघि मात्रै जेठ २३ गते बिहान आएको बाढीले सोही क्षेत्रमा सडक बगाउँदा करिब नौ घण्टासम्म यातायात सेवा ठप्प भएको थियो ।

यता, लप्से खोलामा निर्माणाधीन पक्की पुलको काम वर्षौंदेखि अलपत्र परेकाले समस्या झन् जटिल बनेको स्थानीयको गुनासो छ । २०७३ सालभित्र सम्पन्न हुनुपर्ने पुल निर्माण ठेकेदारको ढिलासुस्तीका कारण अझै सम्पन्न हुन नसकेको जनाइएको छ ।

पुल अभावमा वर्षायाममा खोलामा पानीको बहाव बढ्नेबित्तिकै यात्रु, एम्बुलेन्स, मालवाहक ट्रक, मोटरसाइकल तथा पैदलयात्रीसमेत घण्टौँसम्म जोखिम मोलेर यात्रा गर्न बाध्य हुने गरेका छन् । स्थानीयवासीले पुल निर्माणलाई शीघ्रता दिन र दीर्घकालीन रूपमा सडक सुरक्षाका उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

वर्षायाम सुरु भएसँगै मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो र बाढीजन्य जोखिम बढ्दै गएको अवस्थामा खोटाङको लप्से क्षेत्र पुनः चुनौतीपूर्ण ‘हटस्पट’ का रूपमा देखिएको छ । यातायात पूर्वाधारको दिगो व्यवस्थापन र निर्माणाधीन संरचनाको समयमै सम्पन्नता नहुँदा स्थानीय जनजीवन र क्षेत्रीय आवागमन बारम्बार प्रभावित हुँदै आएको छ ।