Breaking Nepal

विराटनगर / युवालाई सीपमूलक दक्षता प्रदान गर्दै स्वरोजगार र रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१० को पहलमा सञ्चालन गरिएको निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको छ । एक महिने तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागी १० जना युवालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
वडा कार्यालय र विराटनगरस्थित बिराट ड्राइभिङ सेन्टरको समन्वयमा जेठ ५ गतेदेखि असार ५ गतेसम्म सञ्चालन भएको तालिममा आर्थिक रूपमा विपन्न, दलित तथा अवसरबाट वञ्चित समुदायका १० जना युवाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मुकुन्द दाहाल, वडा अध्यक्ष अर्जुन गिरी, वडा सदस्य विजय दाहाल तथा बिराट ड्राइभिङ सेन्टरका सञ्चालक विकास अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष अर्जुन गिरीले युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले सीप र दक्षता नै रोजगारी तथा स्वरोजगारको आधार भएकाले तालिमबाट प्राप्त ज्ञानलाई निरन्तर अभ्यासमार्फत व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।
वडा सदस्य विजय दाहालले तालिमबाट प्राप्त सीपलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके मात्र यसको वास्तविक प्रतिफल प्राप्त हुने उल्लेख गर्दै युवालाई अवसरको सदुपयोग गर्न सुझाव दिए ।
बिराट ड्राइभिङ सेन्टरका सञ्चालक विकास अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा अवसरबाट वञ्चित युवालाई सीप हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक तथा सीपमूलक कार्यक्रमहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
प्रमुख अतिथि मुकुन्द दाहालले सीप, दक्षता र आत्मविश्वासको संयोजनले युवालाई आर्थिक रूपमा सक्षम बनाउने उल्लेख गर्दै यस्ता तालिमले बेरोजगारी न्यूनीकरण र स्थानीय स्तरमै रोजगार सिर्जनामा सकारात्मक योगदान पुर्याउने धारणा राखे ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र व्यावहारिक सीपलाई उपयोग गर्दै स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजकका अनुसार विपन्न, दलित तथा अवसरबाट वञ्चित समुदायका युवालाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा सीप विकास, आर्थिक सशक्तीकरण तथा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।