भारतीय अवरोधविरुद्ध झापा–इलामका चिया उद्योग बन्द, ६० हजार श्रमिकको रोजगारी जोखिममा

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ १४:३९

झापा  / भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योग तथा बगानहरू बन्द हुन थालेका छन् । समस्या समाधानका लागि नेपाल र भारत दुवै सरकारबाट प्रभावकारी पहल नभएको भन्दै झापाका ३० भन्दा बढी चिया उद्योग र दुई दर्जनभन्दा बढी चिया बगान बिहीबारदेखि बन्द गरिएको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ अन्तर्गत प्रत्येक खेपको चियाको अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ । उनले उक्त व्यवस्था नेपाली चियामाथि गरिएको ‘गैरभन्सार अवरोध’ तथा ‘अघोषित नाकाबन्दी’ सरह भएको आरोप लगाए ।

उनका अनुसार विगत ४५ दिनदेखि समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालयलगायत सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराइए पनि कुनै ठोस पहल नभएपछि उद्योग तथा बगान बन्द गर्ने निर्णय लिनुपरेको हो ।

निर्यात रोकिँदा उद्योगमा उत्पादन भइसकेको चिया गोदाममै थन्किएको, नगद प्रवाह प्रभावित भएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्नसमेत कठिन अवस्था सिर्जना भएको उद्योगीहरूको भनाइ छ । बजारमा पुगिसकेको चियासमेत बिक्री वितरणमा समस्या देखिएपछि उद्योग सञ्चालन असम्भव बन्दै गएको उनीहरूको दाबी छ ।

चिया क्षेत्र नेपालको प्रमुख निर्यातमुखी कृषि उद्योगमध्ये एक हो। संघका अनुसार यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक तथा कर्मचारी आबद्ध छन् भने हजारौं किसानको जीविकोपार्जन चियामै निर्भर छ । चिया उद्योगहरूले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाउँदै आएका छन् ।

झापामा मात्रै अर्थोडक्स र सीटीसी चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँसम्म हुने गरेको छ । कुल उत्पादनमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने तथ्यांक छ । निर्यातबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदै आएको भए पनि भारतीय अवरोधका कारण समग्र चिया उद्योग संकटमा परेको संघले जनाएको छ ।

अध्यक्ष पराजुलीका अनुसार भारतले गुणस्तर परीक्षणका नाममा जटिल, अपारदर्शी र समयखर्ची प्रक्रिया लागू गरेपछि नेपाली चिया सहज रूपमा निर्यात हुन नसकेको हो । गुणस्तरका हिसाबले नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रहे पनि विभिन्न प्राविधिक अवरोधमार्फत बजार पहुँच सीमित पार्ने प्रयास भइरहेको उनको आरोप छ ।

भारतपछि बंगलादेशमा समेत नेपाली चियाको माग बढ्दै गए पनि त्यहाँ भन्सार सुविधा नपाउँदा वैकल्पिक बजार विस्तार हुन नसकेको उद्योगीहरूको गुनासो छ । यसले निर्यात विविधीकरणको प्रयाससमेत प्रभावित भएको उनीहरू बताउँछन् ।

यसअघि असार १ गतेदेखि इलामका चिया उद्योग तथा बगानहरू बन्द भइसकेका छन्। अब झापाका उद्योगसमेत बन्द भएपछि पूर्वी नेपालको चिया उद्योग नै ठप्प हुने जोखिम बढेको छ । उद्योगीहरूले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारतीय चिया बोर्डले लागू गरेको नयाँ परीक्षण प्रक्रिया हटाउन तथा निर्यात सहज बनाउन सरकारसँग माग गरेका छन् ।

उद्योगीहरूले भारतीय अवरोध नहटेसम्म बन्द कार्यक्रम जारी रहने चेतावनी दिएका छन् । यसबाट चिया किसान, श्रमिक, उद्योगी र निर्यात व्यवसायी सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।