Breaking Nepal

काठमाडौँ / विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली युरोपियन स्पोर्ट्स क्लबको प्रतिष्ठित लोगो र कप पुर्याइएपछि नेपाली पर्वतारोहण इतिहासमा नयाँ उपलब्धि थपिएको छ । अनुभवी पर्वतारोही फुर्बा थिली शेर्पाले सगरमाथाको चुचुरोमा क्लबको कप र लोगो पुर्याएर क्लबको इतिहासमा अविस्मरणीय क्षण सिर्जना गरेका छन् ।
फुर्बा थिली शेर्पाले २० मे २०२६ मा सुरु गरेको सगरमाथा अभियान करिब दुई महिनाभन्दा बढीको तयारी, कठिन यात्रा र प्रतिकूल मौसमबीच सम्पन्न भएको हो । उक्त अभियानमा ११ जना चिनियाँ आरोही र १६ जना अनुभवी शेर्पा सदस्य सहभागी थिए । निरन्तर चुनौतीपूर्ण अवस्थाबीच टोलीले आरोहण पूरा गर्दै अन्ततः सगरमाथाको शिखरमा सफलता हासिल गरेको हो ।
शेर्पा टोली बिहान ९ बजे सगरमाथाको सर्वोच्च शिखरमा पुगेको थियो । उक्त क्षणमा नेपाली युरोपियन स्पोर्ट्स क्लबको कप र लोगो विश्वको सर्वोच्च बिन्दुमा पुर्याइएको थियो, जसलाई क्लबले ऐतिहासिक उपलब्धि भन्दै स्मरणीय क्षणका रूपमा लिएको छ ।
फुर्बा थिली शेर्पाको यो आरोहण व्यक्तिगत रूपमा पनि महत्वपूर्ण बनेको छ । यो उनको दशौं पटक सगरमाथा आरोहण भएको बताइएको छ । उनले आरोहणका क्रममा युरोपमा विशेषगरी भलिबललगायत खेलकुद गतिविधिको विकासमा युरोपियन स्पोर्ट्स क्लबले पुर्याएको योगदानको सम्मानस्वरूप क्लबको कप र लोगो शिखरमा पुर्याइएको प्रतिक्रिया दिएका छन् ।
यसैबीच, युरोपियन स्पोर्ट्स क्लबका अध्यक्ष दिलकुमार घमालले शेर्पाको सफलताप्रति आभार व्यक्त गर्दै क्लबको कप र लोगो विश्वको सर्वोच्च शिखरमा पुग्नु गौरवको विषय भएको बताएका छन् । उनले उक्त उपलब्धिले क्लबको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको टिप्पणी गरेका छन् ।
सगरमाथाको शिखरमा युरोपियन स्पोर्ट्स क्लबको कप र लोगो पुर्याइनु नेपाली पर्वतारोहण, खेलकुद कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिले समेत विशेष उपलब्धि मानिएको छ।