Breaking Nepal

विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट स्कुलले कक्षा १२ को वार्षिक परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै फेरि एकपटक शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको परीक्षाफल अनुसार एभरेष्ट स्कुलबाट परीक्षामा सहभागी सबै १३२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्कुलका प्रिन्सिपल टिकाराम पुरीका अनुसार विद्यालयले निरन्तर उत्कृष्ट नतिजा कायम गर्दै आएको र यस वर्ष पनि सोही परम्परा दोहोरिएको हो ।
त्यसैगरी प्रशासन प्रमुख रक्की यादवका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये ५७ जनाले ए प्लस, ६६ जनाले ए र ९ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।
शैक्षिक गुणस्तरमा निरन्तर अग्रस्थानमा रहँदै आएको एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रमका रूपमा बीआईटी (Bachelor in Information Technology) को अध्यापनसमेत सुरु गरेको छ ।
काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त कार्यक्रमका लागि आवेदन प्रक्रिया खुला भइसकेको विद्यालयले जनाएको छ । विश्वविद्यालयले समयमै कोर्स पूरा गर्ने, नियमित परीक्षा लिने र छिटो नतिजा प्रकाशन गर्ने अभ्यासका कारण बीआईटी कार्यक्रमप्रति विद्यार्थी आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।
इच्छुक विद्यार्थीहरूले काठमाडौं विश्वविद्यालयको आधिकारिक पोर्टल https://apply.ku.edu.np/cbt मार्फत अनलाइन आवेदन दिन सक्ने एभरेष्ट स्कुलले जनाएको छ ।