बीएसएन होटल म्यानेजमेन्टको पहिलो वर्षमै उत्कृष्ट नतिजा : ‘ए प्लस’सहित ८० प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ १६:५१

विराटनगर / विराटनगर तीनपैनी चोकस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले सञ्चालनको पहिलो वर्षमै कक्षा १२ को परीक्षामा उत्साहजनक नतिजा हासिल गरेको छ । होटल तथा पर्यटन व्यवस्थापनमा आधारित प्राविधिक शिक्षामा केन्द्रित कलेजले शैक्षिक यात्राको सुरुवातमै बलियो उपस्थिति देखाएको हो ।

कलेजका अनुसार कक्षा १२ को परीक्षामा सहभागी ४६ विद्यार्थीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण दर करिब ८० प्रतिशतभन्दा बढी रहेको छ। नतिजाअनुसार १ जनाले ‘ए प्लस’ (उत्कृष्ट श्रेणी), ५ जनाले ‘ए’, २२ जनाले ‘बी प्लस’ र बाँकी विद्यार्थीले ‘बी’ श्रेणी प्राप्त गरेका छन् ।

कलेजका निर्देशक मनोजकुमार राजवंशीका अनुसार पहिलो वर्षमै आएको यो नतिजाले संस्थागत शैक्षिक अभ्यास र विद्यार्थीको मेहनत दुवैलाई प्रतिबिम्बित गरेको छ । उनका अनुसार कलेजले सिद्धान्तसँगै प्रयोगात्मक शिक्षामा विशेष जोड दिँदै आएको छ, जसले विद्यार्थीको सिकाइ क्षमता र परीक्षामुखी तयारीलाई सुदृढ बनाएको छ ।

होटल व्यवस्थापन शिक्षामा किचन, हाउसकिपिङ, फ्रन्ट अफिस, फुड एण्ड बेभरेज सेवा लगायतका व्यवहारिक सीप अनिवार्य मानिन्छ । बीएसएनले नियमित प्रयोगशाला अभ्यास, उद्योगसँगको समन्वय तथा सम्भावित इन्टर्नसिपमार्फत विद्यार्थीलाई व्यावसायिक रूपमा तयार गर्ने रणनीति अपनाएको जनाएको छ ।

नेपालमा पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्र विस्तार भइरहेका बेला दक्ष जनशक्तिको माग बढ्दो छ । यस्तो अवस्थामा होटल म्यानेजमेन्ट शिक्षा रोज्ने विद्यार्थीका लागि रोजगारीका अवसर पनि विस्तार हुँदै गएको देखिन्छ । कलेजको नतिजाले प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति विद्यार्थीको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।

संस्थाले आगामी वर्षमा शैक्षिक गुणस्तर अझ सुधार गर्दै नतिजा थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।