कक्षा १२ को परीक्षामा मेरिल्याण्ड कलेजको उत्कृष्ट नतिजा, तीन जना विद्यार्थीले ल्याए ३.९६ जीपीए

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ २१:२२

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आफूलाई पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा पुनः स्थापित गरेको छ । यस वर्ष कलेजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ ।

कलेजका प्राचार्य लक्ष्मण ढकालका अनुसार तीन जना विद्यार्थीले ४.० नजिकको ३.९६ जीपीए प्राप्त गरेका छन् । यस्तै, १० जना विद्यार्थीले ३.९० भन्दा माथि जीपीए ल्याउँदै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका छन् ।

नतिजाअनुसार १४० जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् भने २३२ जनाले ‘ए’ ग्रेड हासिल गरेका छन् । बाँकी विद्यार्थीले ‘बी’ ग्रेडसहित परीक्षा उत्तीर्ण गरेका छन् । समग्र नतिजाले कलेजको शैक्षिक गुणस्तर, अध्यापन प्रणाली तथा विद्यार्थीको मेहनतलाई पुष्टि गरेको प्राचार्य ढकालले बताए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्षको नतिजा अझ उत्साहजनक रहेको छ । अघिल्लो वर्ष दुई जना विद्यार्थीले मात्र ३.९६ जीपीए हासिल गरेका थिए भने यस वर्ष उक्त संख्या बढेर तीन पुगेको छ । उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको कलेजले जनाएको छ ।

व्यवस्थापन संकायमा विगतमा सात पटकसम्म बोर्ड प्रथम विद्यार्थी उत्पादन गरिसकेको मेरिल्याण्डले यस वर्ष पनि उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिएको दाबी गरेको छ । पछिल्ला वर्षहरूमा व्यवस्थापन शिक्षामा स्थापित पहिचान बनाएको कलेजले विज्ञान संकायतर्फ पनि प्रतिस्पर्धी उपस्थिति देखाउन थालेको छ ।

२०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजले गत वर्षदेखि विज्ञान संकाय सञ्चालनमा ल्याएको थियो । आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक, प्रविधिमैत्री शिक्षण प्रणाली तथा नियमित शैक्षिक मूल्यांकनका कारण विज्ञानतर्फ पनि विद्यार्थीको आकर्षण बढ्दै गएको कलेज प्रशासनको भनाइ छ ।