Breaking Nepal

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूलाई डिजिटल माध्यमबाट सहज, छिटो र पारदर्शी मतदानको व्यवस्था मिलाइएको जनाएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम तथा तस्बिरमा स्पर्श गरेर मतदान गर्न सक्नेछन्। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
पहिलो चरणमा सभापतिका लागि एक जना तथा केन्द्रीय सदस्यका लागि ९९ जनाको चयन हुनेछ। यो मतदान प्रक्रिया सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन तालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु हुनेछ भने सोही दिन साँझ पहिलो चरणको मतदान गरिनेछ। पहिलो चरणको मतगणना तथा परिणाम रातिसम्ममा सक्ने लक्ष्य राखिएको छ।
पहिलो चरणबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको मतदान असार ९ गते सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।
विदेशमा रहेका प्रतिनिधिहरूलाई समेत मतदानमा सहभागी गराउन रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदानको व्यवस्था मिलाएको छ। विदेशस्थित १७० प्रतिनिधिमध्ये नेपाल आउन नसक्नेहरूले उक्त एपमार्फत मताधिकार प्रयोग गर्न सक्नेछन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित ११ सदस्य छन्। आयोगका पदाधिकारीले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। यद्यपि आयोगले निर्वाचनको निष्पक्षता र तटस्थता कायम राख्न आफूहरू मतदान प्रक्रियाबाट अलग रहने जनाएको छ।
रास्वपाले विद्युतीय मतदान र अनलाइन सहभागितामार्फत संगठनात्मक लोकतन्त्रलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने प्रयास गरेको जनाएको छ।