Breaking Nepal

विराटनगर / देशभर मनसुनको प्रभाव क्रमशः विस्तार भइरहेका बेला कोशी प्रदेश आज सबैभन्दा बढी मौसमीय जोखिमको केन्द्रमा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रणाली सक्रिय रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा समेत वर्षाको गतिविधि देखिने विभागको अनुमान छ। विशेषगरी कोशीका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन सुझाव दिइएको छ।
मधेस प्रदेशका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहे पनि मौसमीय गतिविधिको मुख्य केन्द्र कोशी प्रदेश नै रहने विभागले जनाएको छ। वाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा समेत वर्षा हुने अनुमान गरिएको छ।
यता, वर्षासँगै देशका केही तराई क्षेत्रमा गर्मीको असर पनि कायम रहने भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावाको लहर (हिट वेभ) चल्ने सम्भावना रहेको छ भने वाग्मती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही क्षेत्रमा बदली रहनेछ। मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना कायम रहने तथा पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
मौसमविद्हरूले भारी वर्षाका कारण पहिरो, डुबान तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।