संखुवासभामा बाढीपहिरोको कहर : विद्युत्–सञ्चार ठप्प, दुई विद्यालय बन्द, सयभन्दा बढी घर जोखिममा

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १४:२६

सङ्खुवासभा / अविरल वर्षापछि आएको बाढीपहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ । बाढीपहिरोका कारण विद्युत्, सञ्चार र यातायात सेवा अवरुद्ध हुनुका साथै दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा रोकिएको छ ।

गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार गाउँपालिका केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको छ । केन्द्रीय विद्युत् लाइन, दुई माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा अधिकांश सञ्चार सेवा बन्द हुँदा स्थानीयवासी थप समस्यामा परेका छन् ।

सिलिचोङ–१ स्थित कालिका माध्यमिक विद्यालयमा शनिबार राति आएको पहिरोले १५ कक्षाकोठामा चिरा पार्नुका साथै शैक्षिक सामग्रीमा क्षति पुर्‍याएको छ । सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालय पनि पहिरोबाट प्रभावित भएपछि दुवै विद्यालयको पठनपाठन अनिश्चितकालका लागि रोकिएको छ । विद्यालयहरू उच्च जोखिममा परेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको गाउँपालिकाले जनाएको छ ।

बाढीपहिरोबाट सिलिचोङ–१ सिसुवाखोलाका ६ घर विस्थापित भएका छन् भने तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका १०० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । जोखिम बढेपछि स्थानीयवासी सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन् ।

स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुनु र निरन्तर वर्षा जारी रहेकाले राहत तथा उद्धारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।