माहेश्वरी महिला मञ्चले गरायो विपन्न परिवारका ११ जोडीको सामूहिक विवाह, गृहस्थ जीवनका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १४:४५

विराटनगर / आर्थिक रूपमा विपन्न सन्थाल र ऋषिदेव समुदायका ११ जोडीलाई सनातन हिन्दू परम्पराअनुसार सामूहिक विवाह गराइएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई केन्द्रमा राख्दै माहेश्वरी महिला मञ्चले विराटनगरस्थित अतिथि सदनमा सामूहिक विवाह कार्यक्रम आयोजना गरेको हो ।

मञ्चका अनुसार आर्थिक अभावका कारण विधिवत् विवाह गर्न नसकेका विपन्न परिवारका जोडीलाई सामाजिक तथा धार्मिक परम्पराअनुसार वैवाहिक बन्धनमा बाँध्नुका साथै उनीहरूको नयाँ गृहस्थ जीवन सहज बनाउन आवश्यक सामग्रीसमेत उपलब्ध गराइनेछ ।

सामूहिक विवाहमा सहभागी प्रत्येक नवविवाहित जोडीलाई गरगहना, दराज, ग्यास चुलो, सुत्ने बेड, ओछ्यान, भाँडाकुँडा तथा दाम्पत्य जीवनका लागि आवश्यक विभिन्न गृहउपयोगी सामग्री प्रदान गरिएको आयोजक संस्थाकी अध्यक्ष ललिता जाजुले बताइन् । यसबाट नवदम्पतीलाई आत्मनिर्भर र सम्मानजनक रूपमा नयाँ जीवनको सुरुवात गर्न सहयोग पुग्ने विश्वास लिइएको    छ ।

माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजुले सामाजिक सेवामार्फत कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले सामूहिक विवाह कार्यक्रमलाई निरन्तरता दिइएको बताइन् ।

‘विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन, दुई परिवार र समाजलाई जोड्ने महत्वपूर्ण संस्कार पनि हो । आर्थिक अभावकै कारण कुनै पनि परिवार यो संस्कारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मञ्चले यो अभियान सञ्चालन गरेको हो,’ उनले भनिन्, ‘नवदम्पतीले सम्मानपूर्वक नयाँ जीवन सुरु गर्न सकून् भन्ने सोचका साथ आवश्यक गृहउपयोगी सामग्रीसमेत प्रदान गरिएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ ।’

आयोजकका अनुसार सामूहिक विवाहले आर्थिक रूपमा कमजोर परिवारको व्ययभार घटाउनुका साथै सामाजिक सद्भाव, मानवीय सेवा र समावेशी समाज निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा विभिन्न सामाजिक संघसंस्थाले विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले सामाजिक एकता र सहकार्यको भावनालाई थप मजबुत बनाएको छ ।

माहेश्वरी महिला मञ्चले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, राहत वितरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । मञ्चले सामूहिक विवाहजस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारलाई प्रत्यक्ष सहयोग पुग्नुका साथै समाजमा सेवा, सहयोग र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

कोशी प्रदेशका पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको सामूहिक विवाह समारोहमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, उद्योगी महेश जाजुसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।