सामूहिक धान रोपेर महानगरले मनायो २३औँ राष्ट्रिय धान दिवस

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ २०:१५

विराटनगर / कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता तथा धानमा आत्मनिर्भरताको लक्ष्यलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस सामूहिक धान रोपाइँसहित मनाएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विराटनगर–४ इक्राही क्षेत्रको खेतमा सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमपछि सहभागीहरूले परम्पराअनुसार दही–चिउरा खाएर राष्ट्रिय धान दिवसको सांस्कृतिक महत्वलाई पनि स्मरण गरेका थिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेलगायत जनप्रतिनिधि, कर्मचारी तथा कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाको कार्यक्रममा सहभागिता रहेको कृषि तथा पशुपन्छी शाखा प्रमुख हीरालाल यादवले जानकारी दिए ।

महानगरपालिकाले धान खेतीलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै आएको जनाएको छ ।

नेपालको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानले राष्ट्रिय कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर, मौसमको अनिश्चितता, सिंचाइ पूर्वाधारको सीमितता, खेतीयोग्य जमिनको खण्डीकरण तथा कृषि श्रमिकको अभावजस्ता चुनौतीका कारण उत्पादन वृद्धि अपेक्षित हुन सकेको छैन ।

यस्ता चुनौतीबीच स्थानीय तहले प्रविधिमा आधारित खेती प्रणाली, गुणस्तरीय बीउ, सिंचाइ विस्तार, यान्त्रिकीकरण तथा किसानमैत्री कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् । महानगरले पनि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै धानमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुरूप कृषि प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।