बजेट विवादमा कोशी सरकार थप दबाबमा, मुख्यमन्त्री–असन्तुष्ट सांसद वार्ता निष्फल

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ २१:४८

विराटनगर / कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि अझ गहिरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की र बजेटप्रति असन्तुष्ट सत्तारुढ सांसदहरूबीच सोमबार साँझ भएको छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि विनियोजन विधेयक पारित गर्ने प्रक्रिया थप पेचिलो बनेको छ ।

मुख्यमन्त्री निवासमा भएको छलफलमा बजेटको संरचना, स्रोत विनियोजन र योजनागत सन्तुलनका विषयमा लामो संवाद भए पनि दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेनन् । असन्तुष्ट सांसदहरूले बजेटलाई संशोधनसहित विनियोजन विधेयककै अनुसूचीमा समावेश गर्नुपर्ने माग दोहोर्‍याएका छन् ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार मुख्यमन्त्रीले पहिले विनियोजन विधेयक पारित गरेर त्यसपछि आवश्यक संशोधन गर्ने प्रस्ताव अघि सारेका थिए । तर असन्तुष्ट पक्षले बजेटको वास्तविक सुधार विधेयककै अभिन्न अंशका रूपमा सुनिश्चित नभएसम्म समर्थन गर्न नसकिने स्पष्ट पारेको उनले बताए ।

उनका अनुसार मुख्यमन्त्रीले नीतिगत रूपमा बजेट पुनरावलोकन गर्ने र आवश्यक प्रतिशतमा बजेट समायोजन गर्ने प्रतिबद्धता जनाए पनि योजनागत थपघट र कार्यगत संशोधन तत्काल नगर्ने धारणा राखेका थिए। यही प्रस्तावमा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।

असन्तुष्ट सांसदहरूले बजेटलाई क्षेत्रगत र योजनागत रूपमा असन्तुलित, पक्षपातपूर्ण तथा पर्याप्त परामर्शबिनै ल्याइएको आरोप लगाउँदै आएका छन् । उनीहरूले बजेटमा आवश्यक संशोधन नगरे सदनमै खुला विरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

कार्कीका अनुसार मुख्यमन्त्रीले मंगलबार पुनः सबै पक्षसँग छलफल गरी सहमतिको प्रयास गर्ने बताएका छन्। यद्यपि माग सम्बोधन नभए एक जना सांसद मात्र भए पनि विरोधको अडान नछोड्ने असन्तुष्ट पक्षको स्पष्ट सन्देश रहेको उनले बताए ।

बजेट विवादकै कारण यसअघि असार ११ गतेका लागि तय गरिएको प्रदेश सभा बैठक स्थगित गरी असार १६ गतेसम्म सारिएको थियो । त्यसयता पनि सहमति नजुटेपछि कोशी प्रदेश सरकारको बजेट पारित प्रक्रिया अनिश्चित बन्दै गएको छ। सत्ता गठबन्धनभित्रकै मतभेदले आगामी संसदीय प्रक्रिया र सरकारको राजनीतिक व्यवस्थापनमा थप चुनौती सिर्जना गर्ने संकेत देखिएको छ ।