भोजपुरका १३ सामुदायिक विद्यालयमा लैङ्गिक समानता अभियान

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ २२:१०

भोजपुर  / भोजपुर नगरपालिकाभित्रका १३ सामुदायिक विद्यालयमा विद्यालय शिक्षालाई सुरक्षित, समावेशी र लैङ्गिकमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन परियोजना’ले विद्यार्थीको सिकाइ, नेतृत्व क्षमता र व्यवहारमा उल्लेखनीय सकारात्मक परिवर्तन देखिन थालेको छ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सअन्तर्गत शिक्षा, नवप्रवर्तन तथा ज्ञान आदान–प्रदान प्रयोगशाला (लाइक) परियोजनामार्फत सञ्चालित कार्यक्रमले विद्यालयभित्र समान अवसर, मानसिक स्वास्थ्य, समावेशी अभ्यास र विद्यार्थी सहभागितालाई प्राथमिकतामा राख्दै शैक्षिक वातावरण सुधारतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न थालेको जनाएको छ।

परियोजनाअन्तर्गत सहभागी प्रत्येक विद्यालयमा एक–एक जना फोकल शिक्षकको जिम्मेवारी तोकिएको छ भने ‘लाइक क्लब’ गठन गरी विद्यार्थी नेतृत्वमा विविध गतिविधि सञ्चालन भइरहेका छन्। परियोजना संयोजक सौरभ राजभण्डारीका अनुसार कार्यक्रमले विद्यार्थीको सिकाइ प्रक्रियामात्र होइन, उनीहरूको सामाजिक व्यवहार, आत्मविश्वास र सहकार्य गर्ने संस्कृतिमा समेत सकारात्मक प्रभाव पारेको छ।

कार्यक्रमका उपलब्धि तथा अनुसन्धान निष्कर्ष सार्वजनिक गर्न आयोजित पत्रकार अभिमुखीकरण कार्यक्रममा अनुसन्धानकर्ता यमुना बस्नेतले आधारभूत अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, स्रोतको पहुँच, सहभागिता, सन्तुष्टि तथा सिकाइ वातावरणसँग सम्बन्धित विभिन्न सूचकमा अध्ययन गरिएको जानकारी दिइन्।

प्रतिवेदनअनुसार परियोजनाले बालबालिकाले स्वयं पहिचान गरेका १६ वटा शैक्षिक तथा जीवनोपयोगी क्षमताको विकासलाई केन्द्रमा राख्दै कार्यक्रम सञ्चालन गरिरहेको छ। यसले विद्यार्थीको आत्मविश्वास, निर्णय क्षमता, सहकार्य, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउन सहयोग पुर्‍याएको उल्लेख गरिएको छ।

परियोजना प्रमुख डा. बिनायक कृष्ण थापाले विद्यालयलाई सुरक्षित, समान अवसरयुक्त र समावेशी सिकाइ केन्द्रका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार ‘लाइक क्लब’को सक्रियताले विद्यालयभित्र लैङ्गिक विभेद न्यूनीकरण, सम्मानजनक सम्बन्धको विकास र विद्यार्थीको सक्रिय सहभागिता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ।

उनले नेपालसँगै भुटान र बङ्गलादेशका विद्यालयमा समेत सञ्चालन भइरहेको यस परियोजनाले बालबालिकाको सिकाइ अनुभवलाई गुणस्तरीय, व्यवहारमुखी र समावेशी बनाउन अन्तरदेशीय अभ्यास तथा अनुभव आदान–प्रदानलाई समेत जोड दिएको बताए।

परियोजना भोजपुर नगरपालिकाभित्रका सिंहदेवी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, विद्योदय माध्यमिक विद्यालय, यशोधरा माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, जाल्पा माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, जनसेवा आधारभूत विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय तथा पञ्चकन्या प्राथमिक विद्यालयमा सञ्चालन भइरहेको छ।

यस अवधिमा सहभागी विद्यालयका शिक्षकका लागि क्षमता विकास तथा अनुभव आदान–प्रदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ। शिक्षकहरूको अनुभवअनुसार छात्र–छात्राबीचको दूरी घट्नुका साथै सहकार्य गर्ने संस्कृतिको विकास भएको, सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने आत्मविश्वास बढेको, नेतृत्व क्षमता अभिवृद्धि भएको तथा विद्यालय सरसफाइ र सामूहिक जिम्मेवारीप्रति विद्यार्थीको स्वामित्व भावना बलियो बन्दै गएको छ।

परियोजनाले विद्यालय शिक्षामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई व्यवहारमै स्थापित गर्दै विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।