बीपी प्रतिष्ठानमा औषधि कमिसनको जालो : बिरामी फसाउने १० बिचौलिया पक्राउ

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १६:४९

धरान / उपचारका लागि अस्पताल पुगेका बिरामीलाई विभिन्न प्रलोभन देखाउँदै निजी मेडिकलबाट औषधि खरिद गराउने गतिविधिमा संलग्न १० जनालाई प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा मंगलबार प्रतिष्ठानको आकस्मिक (इमर्जेन्सी) सेवा भवन अगाडिबाट संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कारबाहीमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट घोपाको टोली परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले उपचारका लागि प्रतिष्ठान पुगेका बिरामी तथा उनीहरूका आफन्तलाई निजी मेडिकलमा कम मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै विश्वासमा पार्ने, त्यहीँबाट औषधि खरिद गराउने र त्यसबापत अवैध रूपमा कमिसन लिने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रन्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्विन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का १८ वर्षीय बिनोद भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट अन्य व्यक्ति वा सञ्जालको संलग्नता देखिए आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले अस्पताल परिसरमा सक्रिय बिचौलियाको प्रभावबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै औषधि, उपचार वा अन्य सेवाका नाममा कुनै व्यक्ति वा समूहले प्रलोभन दिएमा तत्काल प्रहरी वा अस्पताल प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको छ। अस्पतालभित्र हुने यस्ता अनधिकृत गतिविधिमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।