प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की अब मुख्यसचिव

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १६:५९

काठमाडौं / सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले प्रशासनिक नेतृत्वमा कार्कीलाई नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए । लामो प्रशासनिक अनुभव र सार्वजनिक प्रशासनमा निर्वाह गरेको भूमिकाका आधारमा उनलाई मुलुकको निजामती प्रशासनको सर्वोच्च पदमा नियुक्त गरिएको हो ।

मुख्यसचिवका रूपमा कार्कीले संघीय प्रशासनको समन्वय, सरकारी नीतिको प्रभावकारी कार्यान्वयन तथा निजामती प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् । उनको नियुक्तिसँगै सरकारको प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।