Breaking Nepal

सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहास्थित धनगढीमाई नगरपालिकाको जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार मण्डलले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिनका लागि आफ्नो शैक्षिक योग्यतासम्बन्धी झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेका थिए । अनुसन्धानका क्रममा उनले पेस गरेका पीसीएल र स्नातक तहका प्रमाणपत्र आधिकारिक नभएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत अभियोग दर्ता गरिएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको अभियोगपत्रअनुसार मण्डलले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएस्सी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेको देखिने प्रमाणपत्र पेस गरी शिक्षक पद हासिल गरेका थिए । तर ती शैक्षिक प्रमाणपत्र वास्तविक नभएको अनुसन्धानबाट खुलेको आयोगको निष्कर्ष छ ।
अख्तियारले झुट्टा शैक्षिक योग्यता देखाई सार्वजनिक सेवामा प्रवेश गर्नु भ्रष्टाचारजन्य कसुर भएको उल्लेख गर्दै मण्डललाई कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।