Breaking Nepal

विराटनगर / राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेकी एक महिलाले पेश गरेको नागरिकता नक्कली रहेको पुष्टि भएपछि विराटनगरमा लामो समयदेखि सञ्चालन हुँदै आएको नक्कली नागरिकता बनाउने संगठित गिरोहको पर्दाफास भएको छ । प्रहरीले यस प्रकरणमा दुई जनालाई पक्राउ गर्दै ठूलो परिमाणमा नक्कली सरकारी कागजात, नागरिकता तथा छपाइमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी विराटनगर–स्थित ३० वर्षीया मनिषा कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन् । उनले पेश गरेको नागरिकतामाथि शंका उत्पन्न भएपछि प्रशासनले परीक्षण गर्दा उक्त नागरिकता नक्कली रहेको पुष्टि भएको थियो। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशनमा प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानको पहिलो चरणमै विराटनगर–११ निवासी ६५ वर्षीय अशोककुमार श्रेष्ठ पक्राउ परेका छन् । उनको घरमा गरिएको खानतलासीका क्रममा थप १० थान नक्कली नागरिकता फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार श्रेष्ठले मनिषाबाट नागरिकता बनाइदिने नाममा १ लाख ३० हजार रुपैयाँ लिएका थिए । उनले आवश्यक विवरण र फोटो संकलन गरी केही दिनमै नागरिकता तयार गरेर हस्तान्तरण गरेका थिए । मनिषाले आफूले पाएको नागरिकता वैधानिक भएको विश्वास गर्दै प्रयोग गरिरहेकी थिइन् ।
अनुसन्धान विस्तार गर्दै जाँदा विराटनगर–५ स्थित महेन्द्र चोकमा रहेको ‘न्यू डोली फोटो सर्भिसेज’ सञ्चालन गर्ने ३८ वर्षीय धनदेव राजवंशीको संलग्नता पनि खुलेको छ । प्रहरीका अनुसार राजवंशीले श्रेष्ठले उपलब्ध गराएको विवरणका आधारमा १० भन्दा बढी नागरिकता प्रिन्ट गरेको स्वीकार गरेका छन् ।
प्रहरीले स्टुडियोमा छापा मारेर नक्कली नागरिकता उत्पादनमा प्रयोग भएका कम्प्युटर, प्रिन्टर, लेमिनेसन सामग्री, सरकारी फाराम तथा अन्य कागजात नियन्त्रणमा लिएको छ ।
बरामद नागरिकतामा नेपाल सरकारको होलोग्राम, कार्यालयको आधिकारिक छाप, जारी गर्ने अधिकृतको हस्ताक्षर तथा लेमिनेसनसमेत अत्यन्तै वास्तविक देखिने गरी प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । नागरिकतामा २०६८ देखि २०८२ सम्मका विभिन्न मिति उल्लेख गरिएको छ भने हाल कार्यरत र सरुवा भइसकेका कर्मचारीको हस्ताक्षरसमेत नक्कल गरिएको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सरकारी फाराम, वडा कार्यालयका नक्कली सिफारिस पत्रलगायतका कागजात पनि बरामद भएका छन् । प्रहरीले बरामद सामग्रीको प्राविधिक परीक्षणसँगै यसमा अन्य व्यक्तिको संलग्नता रहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सरकारी अभिलेख र सुरक्षा प्रणालीको दुरुपयोग गर्दै सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले सञ्चालन गरिएको यो संगठित अपराध भएको बताएका छन्। उनले सरकारी होलोग्राम, हस्ताक्षर र अन्य सुरक्षा चिन्हको दुरुपयोग गर्ने संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।